प्रत्येक तीन मध्ये एउटा बोट बिरुवा खतरामा

विश्वभरका बोट बिरुवाका प्रजातिहरूको एक तिहाइ भन्दा बढी लोप हुने खतरामा छन्, जसले पृथ्वीमा जीवनलाई खतरामा पार्न सक्छ। यसैसाता प्रकाशित एक प्रतिवेदनमा यस्तो चेतावनी दिइएको छ ।
सार्वजनिक गरिएको ‘ग्लोबल ट्री एसेसमेन्ट’ प्रतिवेदनले पृथ्वीमा रहेका बोट बिरुवाका प्रत्येक तीन प्रजातिमध्ये एक प्रजाति लोप हुने खतरामा रहेको चेतावनी दिएको छ ।
‘इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर’(IUCN) को ‘रेड लिस्ट अफ थ्रेटेन्ड स्पेसिज’ अन्तर्गतको यो प्रतिवेदन कोलम्बियाको काली सहरमा आयोजना भैरहेको जैवविविधतासम्बन्धी संयुक्त राष्ट्रसंघको कप १६ शिखर सम्मेलनका क्रममा सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले बोट बिरुवाका १६,००० भन्दा बढी प्रजाति लोप हुने खतरामा रहेको जनाएको छ । यो अध्ययनका लागि ४७,००० भन्दा बढी प्रजातिको मूल्याङ्कन गरिएको थियो भने यो अध्ययनमा १,००० भन्दा बढी विज्ञहरू संलग्न थिए। विश्वभर ५८,००० प्रजातिका बोट बिरुवा रहेको अनुमान छ।
प्रतिवेदनमा वन तीव्र गतिमा घट्दै गएको, काठका लागि रुख काटिने र खेतीपाती र मानव बस्ति विस्तारका लागि जग्गा खाली भइरहेको उल्लेख छ । यसबाहेक खडेरी, वन डढेलो जस्ता समस्याले सृजना गरेको जलवायु परिवर्तनले थप खतरा निम्त्याइरहेको छ ।
यी तथ्याङ्कहरू अनुमान मात्र होइनन् । विज्ञ एमिली बीचले भन्छिन्- मानिसहरू खाना, काठ, इन्धन र औषधिू का लागि विभिन्न प्रजातिका बोट बिरुवाहरूमा निर्भर छन्। बोट बिरुवाले अक्सिजन उत्पादन गर्छन् र वायुमण्डलबाट कार्बन डाइअक्साइड जस्ता ग्याँसहरू अवशोषित गर्छन्।
आईयूसीएनका महानिर्देशक ग्रेथेल अगुइलरले भन्छन् – पृथ्वीमा जीवन धान्न बोट बिरुवाहरू आवश्यक छन् र लाखौं मानिस आफ्नो जीवन र जीविकोपार्जनका लागि तिनमा निर्भर छन्।
करोडौं बोट बिरुवा लोप हुँदैछन्
२०१५ मा प्रकाशित एक अध्ययन अनुसार संसारमा लगभग ३०० अरब बोट बिरुवा छन्। विज्ञान जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनले हरेक वर्ष १५ अर्बभन्दा बढी बोट बिरुवा काटिन्छन र मानव सभ्यताको शुरुवातदेखि अहिलेसम्ममा विश्वव्यापी रुखको सङ्ख्या झण्डै आधा घटेको अनुमान गरेको छ ।
आईयूसीएनको रेड लिस्टमा लोपोन्मुखका रूपमा सूचीकृत ५ हजार भन्दा बढी प्रजातिका बोट बिरुवा काठका लागि प्रयोग गरिन्छ। २,००० भन्दा बढी प्रजाति औषधि, खाना र ईन्धनका लागि प्रयोग गरिन्छ।
खतरामा परेका बोट बिरुवाका प्रजातिहरूमा हर्स चेस्टनट तथा जिन्कगो समावेश छन् जुन औषधी रूपमा प्रयोग गरिन्छन । बिग लीफ महोगनी फर्नीचर बनाउन प्रयोग गरिन्छ। यसबाहेक ऐश, म्याग्नोलिया र युकेलिप्टस जस्ता प्रजातिहरू पनि खतरामा छन्।
प्रतिवेदनका अनुसार लोप हुने खतरामा परेका बोट बिरुवाका प्रजातिको संख्या सबै खतरामा परेका चरा , स्तनपायी , सरीसृप र उभयचरहरूको संयुक्त सङ्ख्याको दोब्बरभन्दा बढी छ । यही कारणले गर्दा वैज्ञानिकहरूले जैविक विविधतालाई बचाउने उपायको खोजि गरिरहेका छन्।
टापुहरू सबैभन्दा बढी जोखिममा
बोट बिरुवाका प्रजातिहरूको लोपहुने क्रम १९२ वटा देशमा व्यापक छ जहाँ सहरको बिस्तार अन्य स्थान बाट ल्याइएका प्रजाति कीट तथा रोगहरूका कारणले यो जोखिम बढेको छ ।
विश्वमा सबैभन्दा बढी बोट बिरुवाहरुको विविधता भएको दक्षिण अमेरिकामा १३,६६८ मूल्याङ्कन गरिएका प्रजातिहरूमध्ये ३,३५६ वटा विलुप्त हुने खतरामा छन्। यो महाद्वीपका धेरै प्रजातिहरू अमेजन जङ्गलमा छन् जहाँ कतिपय प्रजाती त अझै पत्ता लागिसकेका छैनन ।
प्रतिवेदन अनुसार बोट बिरुवाका ती प्रजातिहरू पत्ता लाग्दा सम्म तिनीहरू विलुप्त हुने खतरामा हुनेछन्। यो प्रतिवेदनले वृक्षारोपण मार्फत वन संरक्षण र पुनर्स्थापनाका साथै बोट बिरुवाका प्रजातिहरू बचाउन बीज बैंक र वनस्पति उद्यानहरूमा उनीहरूको संरक्षण गर्न पनि आह्वान गरेको छ ।
एएफपी
प्रतिक्रिया