बिहीबार, जेठ २, २०८२

रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८१ मंसिर १९ गते १३:३६

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका–६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

करिब ६ सय ९० किलोग्राम गाँजा बरामद, घटनामा संलग्न एक जना पक्राउ

धरान उपमहानगरपालिका–१३ अमरहाटबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ९० किलोग्राम मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

सरकारी नम्बर प्लेट लगाएको बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम गरी दुवै गाडीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका–११ बस्ने ३६ वर्षीय श्याम कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीहरूमा लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्‍ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३ सय ३० किलोग्राम गाँजा सहित चालक विकलाई पक्राउ गरेको थियो ।

साथै प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा.१ झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा छाडी चालक फरार भएको अवस्थामा फेला पारी उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिक भित्र प्याक गरेको अवस्थामा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ दुङगु खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ किलो ६ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका–८ बस्ने ४६ वर्षीय देबिलाल सहनी र सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय राम नारायण राम रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

इलामको सूर्योदय नगरपालिका–८ छिपिटार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम, गाँजा करिब ५० ग्राम, नगद १५ हजार ८ सय ५० नेपाली रूपैयाँ, भारतीय रुपैयाँ ३ हजार ८ सय, मोबाइल ६ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल शाक्य र ताप्लेजुङ घर भएका २४ वर्षीय बिकाश भुजेल रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले हिमालको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

चितवनको राप्ती नगरपालिका–१ लोथरबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ३० ग्राम सहित नवलपरासी बर्दघाट नगरपालिका–१६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले मनहरीबाट लोथरतर्फ आउँदै गरेको ना.१ ज ८९७१ नम्बरको म्याजिकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१३ बर्माचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय २० मिलिग्राम, नगद १४ हजार ७ सय रूपैयाँ र मोबाइल १ थान सहित रोल्पा परिवर्तन गाउँपालिका–६ बस्ने ३० वर्षीय बिरेन्द्र बुढा मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिवम थापामगर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचुहाईटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम, नगद १० हजार ६ सय ३० रूपैयाँ र मोबाइल २ थान सहित ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने सर्लाही लालबन्दी घर भएका ३० वर्षीय युवराज रायमाझी र महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने २६ वर्षीय मुकेश देवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले ललितपुर महानगरपालिका–४ भनिमण्डलबाट नियन्त्रित लागूऔषध नुफिन ३ पिस, डाइजेपाम ६ पिस, फेनारगन ६ पिस र ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम ४ सय ४० मिलिग्राम, नगद १ लाख ७९ हजार १ सय ५०, मोबाइल ९ थान, ल्यापटप १ थान, क्यामेरा १ थान, क्यामेरा लेन्स १ थान, डिजिटल तराजु १ थान सहित ललितपुर सानेपा बस्ने गुल्मी घर भएका २५ वर्षीय निरञ्जन राना र २० वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ ।

पर्साको वीरगंज महानगरपालिका–१६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७१ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बोरिङ टोल बस्ने २५ वर्षीय अमजद मिया र ३४ वर्षीय सुरज प्रसाद सर्राफ रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया