मंगलबार, वैशाख १६, २०८२

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

नेपालखोज २०८१ चैत १९ गते २०:४७

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताएकी छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आज आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो ‘बिमस्टेक डायलग’ लाई सम्बोधन गर्दै उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय सङ्गठनका रूपमा रहनुपर्नेमा जोड दिएकी हुन् ।

मन्त्री डा राणाले भने, ‘अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ । जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता सङ्गठनहरू जीवन्त र जनताको भरोसा बन्न सक्दैनन् ।’

विश्वभर खासगरी दोस्रो विश्वयुद्धपछि क्षेत्रीय कूटनीति र सहकार्यको लहर आएको र स्थानीय गतिशीलता, क्षेत्रीय पहिचान र अवसरका साथै विश्वव्यापीकरणमा अघि बढ्ने क्रममा क्षेत्रीय सङ्गठनहरू जन्मिन पुगेका प्रसङ्ग उनले उल्लेख गरिन् ।

मन्त्री डा राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्न सक्ने आधारहरू देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिइन् ।

मन्त्री डा राणाले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका महत्त्वपूर्ण रहेकोमा पनि जोड दिए ।

सदस्य राष्ट्रहरूबीचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको उनले स्पष्ट गरिन् ।

प्रतिक्रिया