मंगलबार, वैशाख १६, २०८२

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

नेपालखोज २०८२ वैशाख १ गते ७:२५

वीरगञ्ज । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ ।

गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू) आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।

नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।

‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’ उनले भने,’ नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।

अध्यक्ष पन्तले नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्दथ्यो । तर,अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधआज्ञा० चैत ३० गते बेलुका ६।३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो ।

उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटल लगायतका रहेका छन् ।

वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् । एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छायाँ र अर्कोतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन् । सीमावर्ती रक्सौल नाका हुँदै मासिक हजारौँको सङ्ख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन् ।

आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटलाई वीरगञ्ज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन । जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्दै आइरहेको छ । भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केबल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् ।

जसका कारणले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन् । त्यही समस्यालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ । वीरगञ्जमा करिब १० अर्ब भन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया