‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’

काठमाडौं । आजदेखि नयाँ वर्षअर्थात् विक्रम सम्वत् २०८२ सुरु भएको छ । एकापसमा सुख, शान्ति, उन्नति, प्रगति तथा समृद्धिको कामना साटासाट गरी नयाँ वर्षको सुरुआत गर्ने हाम्रो परम्परा हो ।
विसं ५७ ईशापूर्वमा चन्द्रगुप्त विक्रामादित्यले सुरु गरेको विश्वास गरिन्छ । यो केवल एउटा पात्रो मात्रै होइन यो प्रकृति परिवर्तन हुने समय भएको शास्त्रीय मान्यता छ ।
वसन्त ऋतुमा सुरु हुने नयाँ वर्षमा सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने जानकार बताउँछन् । सूर्य मेष राशीमा प्रवेश गरेसँगै नयाँ वर्ष सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।
नयाँ वर्षको शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको उल्लेख गर्दै नयाँ वर्षमा नयाँ उत्साहका साथ उन्नति र समृद्धिका लागि एउटा साझा सङ्कल्प लिएर अघि बढ्न आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ वर्षको शुभकामना दिँदै सबै नेपालीको जीवनमा सुख, शान्ति, प्र्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तय प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति प्राध्यापक केदारभक्त माथेमा नयाँ वर्षमा मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन ठूला र दीर्घकालीन योजनाको थालनी गर्न ढिलाइ गर्न हुन्न भन्छन् । जनतामा सुशासनको प्रत्याभूति गराउँदै तत्काल लाभ प्राप्त गर्ने अवसर सिर्जना गर्नु अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।
‘स–साना कार्यक्रमले पनि नेपाल विकास र समृद्धिका लागि जुरमुराएको सन्देश दिनसक्छ’, पूर्वराजदूत समेत रहेका माथेमाले भने, ‘शासनमा रहनेहरुले नतिजामुखी कामलाई प्राथमिकता दिएर जनतामा सकारात्मक सन्देश सञ्चार गर्दै नयाँ आशा जगाउन सक्नुपर्छ ।’
राजनीतिक र प्रणालीको स्थायित्व प्रमुख चुनौती रहेको वर्तमान अवस्थामा नयाँ वर्षमा राजनीतिक दलहरुले यसप्रकारका सङ्कल्प लिन जरुरी रहेको उनी औँल्याउँछन् । यसमा नागरिक समाजलगायतले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
प्राडा विद्यानाथ कोइराला वर्ष २०८२ मा मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको बाटोमा हिँडाउनका लागि सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिन्छन् । ‘हिमाल, पहाड र तराईमा कैयौँ सम्भावना छन्, प्रकृतिमा असीमित सम्भावना छन्, यसको उपयोग गर्ने वर्ष बनाउनुपर्छ’, उनले भने । त्यसका लागि सरकारले सम्भावनामा अवसर देखाउनुपर्छ, त्यसका लागि सहजीकरण गरिदिनुपर्छ ।
पैसा मात्रै कमाएर हुँदैन, सुखी बनाउनका लागि सोहीअनुसारका काम गर्नपर्छ भन्ने उनलाई लाग्छ । डा. कोइराला युवा जनशक्तिमा अपार सम्भावना देख्छन् ।
नयाँ वर्ष पात्रो मात्रै फेरिने समय नभई विद्यालय शिक्षा प्रणालीमा नयाँ शैक्षिक सत्र सुरु हुने समय पनि भएको उल्लेख गर्दै शिक्षाविद् धनञ्जय शर्माले नयाँ वर्षको सुरुआतमै सडकमा आन्दालित हजारौँ शिक्षकलाई कक्षाकोठामा पु¥याउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।
‘नयाँ शैक्षिक सत्र सुरु हुने समयमा काठमाडौँमा केन्द्रित शिक्षकको आन्दोलन चलिरहेको छ, यसले भर्नालगायत काम प्रभावित भएका छन्’, उनले भने, ‘शिक्षकको केही जायज माग छन् भने केही संविधानले पनि अनुमति नदिएका माग छन्, त्यसैले सरकारले नयाँ वर्षको सुरुआतमै शिक्षकका जायज माग पूरा गर्ने र अविलम्ब ऐन जारी गर्ने शिक्षकलाई वार्ताका माध्यमबाट सडकबाट कक्षाकोठामा फिर्ता पठाउन जरुरी छ ।’
उनले अहिले पनि ८० प्रतिशत बालबालिका सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै सामुदायिक तथा सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको पनि भूमिका सरकारको जतिकै रहेको बताए ।
पूर्वाधारविद् कमलराज पाण्डे नयाँ वर्षमा नयाँ उपलब्धि हासिल गर्नका लागि उच्च प्रतिफल दिने पूर्वाधारमा बजेट विनियोजन गर्न सुझाव दिन्छन् । ‘अहिले पनि ठूला–ठूला संरचना निर्माण भइरहेका छन्, तर सरकारको प्राथमिकतामा जनताले छिटो प्रतिफल प्राप्त गर्ने र लाभ मिल्ने खालका पूर्वाधार हुनुपर्छ, ताकी जनताको आर्थिक र सामाजिक विकासमा सहयोग पुगोस्’, उनले भने ।
वर्ष २०८२ मा सूचना प्रविधिको क्षेत्रमा भएका ठूलो सम्भावनालाई उपयोग गर्दै मुलुकको विकासमा ठूलो योगदान दिन सकिने बताउँछन्, भिएस इन्टरनेसनल कलेजका कार्यकारी निर्देशक कार्भिका थापा ।
लामो समय अमेरिकामा बसी नेपाल फर्किनुभएकी किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) थापा नेपालले सूचना प्रविधिको क्षेत्रमा लगानी गरी अर्बौं रकम बराबरको विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँछन् ।
‘पछिल्लो समय आइटीमा भविष्य छ भन्ने भाष्य बनेको छ, र यो सही पनि हो, यसमा सरकारले नीतिगत रुपमा सहजीकरण गर्ने हो भने लाखौँलाई रोजगारी दिनुका साथै मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिन सकिन्छ’, उनले भने ।
उनका अनुसार अहिले यो क्षेत्रमा मात्रै ६० हजारभन्दा बढी जनशक्ति आबद्ध छन् उनीहरुले मासिक रु दुई लाखभन्दा बढी कमाइरहेका छन् । अहिले एउटै आइटी कम्पनीमा विभिन्न तरिकाले तीन हजारसम्मले रोजगारी पाएको उनको भनाइ छ ।
सरकारले यस क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादनलाई प्राथमिकता दिँदै देखिएका समस्या समाधानमा भूमिका निर्वाह गर्न आवश्यक रहको उनको बुझाइ छ ।
नेपालमा चेन होटलका रुपमा व्यवसाय विस्तार गरिरहेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने वर्ष २०८२ मा पर्यटन क्षेत्रका अथाह सम्भावनालाई अवसरमा बदल्न आवश्यक भएको बताउँछन् ।
पर्यटन क्षेत्रमा पछिल्लो समय लगानी बढिरहेको भए पनि राज्यबाट लगानी संरक्षणका लागि काम नभएको उल्लेख गर्दै उहाँले यस वर्षमा नीतिगत सहजीकरण आवश्यक भएको बताए ।
मुलुकमा पर्यटक भित्र्याउनका लागि सरकारले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न आवश्यक भएको उनको बुझाइ छ ।
पर्यटकीय पूर्वाधार निर्माणमा पनि निश्चित मापदण्ड बनाउन जरुरी भएको उनको भनाइ छ । साथै नेपालमा पर्यटक बढाउनका लागि उनीहरुको सुरक्षा, सूचना प्रणालीदेखि गन्तव्यसम्म पुग्ने सडक र हवाई यातायातमा सहज र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यी क्षेत्रमा राज्यको औचित्यपूर्ण उपस्थितिको आवश्यकता औँल्याए ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम थापा स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै चिकित्सा सेवा र चिकित्सा शिक्षाको प्रवर्द्धन गर्ने योजना ल्याउनुपर्छ भन्छन् ।
जनतालाई सहज सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न यसवर्ष स्वास्थ्य क्षेत्रमा उल्लेख्य जनशक्ति थप गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले सङ्घीय सरकारमार्फत विशेषज्ञ चिकित्सक, नर्स, विशिष्टकृत सेवा दिनेलाई जनशक्तिलाई परिचालन गर्ने व्यवस्था मिलाउनुपर्छ भने । रासस
प्रतिक्रिया