सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज

इलाम । सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभल र ६६८ दशमलव ९३ किमी कच्चि (माटे) बाटो रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताए ।
नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियोे ।
गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ । हालसम्म १३ दशमलव पाँच किमी कालोपत्रे, ८३ दशमलव ०८ किमी ग्राभल गरिएको छ भने ६६८ दशमलव ९३ किमी सडक स्तरउन्नतीको क्रमममा रहेको नगरप्रमुख रणबहादुर राईले बताए
उनका अनुसार, नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क९एसआरएन० अन्तर्गतका ठुला तीन सडक छन् । जसअनुसार पर्ने मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्रे ४८ दशमलव २० किमी, ग्राभल २ दशमलव ४५ किमी र माटेबाटो २ दशमलव ४१ किमी पर्छ । सूर्योदयमा डिस्ट्रिक्ट रोड केयर नेटवर्क ९डीआरसीएन० अन्तर्गत १० दशमलव ८३ किमी कालोपत्रे, १६ दशमलव १२ किमी ग्राभल र ३६ दशमलव ५६ किमी मोटर बाटो छन् ।
सडकको व्यवस्थित र योजनावद्ध तरिकाले निर्माण गरी जनताको जिवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख राईको भनाइ छ । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आगन छेउको बाटो कालोपत्रे भइरहेको देख्दा सपनाजस्तै लागेको छ ।
सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जाडिने मुख्य बाटोका रूपमा रहेका ती सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नति गर्दै आएको नगरपालिकाले यतिबेला उक्त सडक कालोपत्रेको चरणमा पुर्र्याएको छ । गाउँमा सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित भएका हुन् ।
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक/एकवटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इञ्जिनियर सापकोटाले बताए ।
नगरभित्रका सडक २७ वर्षभित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा ५९ करोड रुपैयाँ खर्च नगरपालिकाले गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तरउन्नतीमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको ५ प्रतिशत वातावारण संरक्षण, ५ प्रतिशत सर्भे ढाँचा, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ ।
अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अर्ब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।
गाउँ–गाउँमा सडक कालोपत्रे हुन थालेपछि यहाँका कृषि उपज बजारसम्म पुर्याउन किसानलाई सहज भएको छ ।
प्रतिक्रिया