माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गरेकी छिन् । माछासँगै उनले पोखरीमा घोँगीपालन गरेकी हुन् । छ महिनामा उनले घोँगीपालनबाट एक लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् ।
वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताइन् । माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक-दुई किलो घोँगी राख्ने गरेका छौँँ, उनले भनिन्, माछालाई जस्तै घोँगीलाई पनि दाना हाल्ने गरेका छौँ । दाना हाल्ने गरेपछि घोँगी निकै फस्टाउने गरेका छन् । चैतमा पोखरी सुकाएपछि घोँगी बेच्नका लागि तयार हुन्छ । त्यसअघि पनि घोँगी बिक्री हुने गरेको छ, चौधरीले भनिन् ।
उनका अनुसार यस वर्षको छ महिनामा १२ क्विन्टल ५० किलो घोँगी प्रतिकिलो एक सयदेखि एक सय २० का दरले बिक्री भएको छ । पोखरीबाटै केही घोँगी स्थानीयले खरिद गरेर लैजाने गरेका छन् । धनगढी, महेन्द्रनगरलगायत बजारमा मौलिक थारु समुदायको परिकार पस्कने होटलमा घोँगीको माग बढी छ, चौधरीले भनिन्, माग अनुसार उत्पादन गर्न सकेका छैनौँ, जति उत्पादन गरेपन सहजै बिक्री हुन्छ । घोँगी बेचेर आएको रकमबाट घरखर्च सहज रूपमा चल्ने गरेको उनले बताइन् ।
तीन वर्षदेखि तीन ठूला र एक सानो पोखरीमा माछासँगै घोँगीपालन गरिँदै आइएको चौधरीले जानकारी दिइन् । गत वर्ष ९० हजार जतिको मात्रै घोँगी उत्पादन भएकामा यस वर्ष दोब्बर बढी उत्पादन भएको उनले बताइन् । घोँगीसँगै पोखरीमा माछापालन गरी चौधरीले वर्षमा १० लाख बढी आम्दानी गर्दै आएको जानकारी दिए ।
प्रतिक्रिया