सोमबार, वैशाख १५, २०८२

किसानका कष्ट : ‘दिनभरि बाँदर, रातभरि हात्तीले हैरान’

डिभिजन वन कार्यालय भन्छ- क्षतिको निवेदन लिएर आए राहतका लागि सहयोग गर्छाै

नेपालखोज २०८२ वैशाख १४ गते २२:०६

बरहथवा । सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर र रात हात्ती रुँगेर बितिरहेको छ । मूर्तिया जङ्गल नजिकै रहेकाले जङ्गली जनावरबाट मकैखेती जोगाउन अचेल यसरी नै समय बिताइरेको उनले बताए ।

‘गत मङ्सिरमा लगाएको वर्णशङ्कर जातको मकैमा दान लाग्न सुरु भएको छ, तर नजिकैको वनबाट आउने बाँदरले मकै रोपेको दिनदेखि नै दुःख दिन थालेको हो । त्यही समयदेखि खेतमै टहरो बनाएर बस्नुपरेको छ’, मैनालीले भने, ‘सुरुदेखि नै बाँदरको दुःख छँदै थियो । विगत तीन सातायता जङ्गली हात्तीले पनि उस्तै समस्या पारेको छ ।’

अर्का किसान बिचारी महतोले हात्तिले घोगामा दाना लागेको मकै खाने र साना मकै कुल्चेर नोक्सान पु¥याइरहेको बताए । उनले छ महिनादेखि आफ्नो घरको बास हुन नसकेको र मकैबारीमै बस्नुपरेको बाध्यता सुनाए । ‘जङ्गली जनावर बाँदर र हात्तीको आतङ्क बढेको छ । खेतमा बीउ रोपेको दिनदेखि बाली नभित्र्याएसम्म खेतमै बस्नुपर्ने बाध्यता छ’, महतोले भने, ‘दुई मिनेटमात्र मान्छे देखेन भने बाँदरको बथानले पाँच कट्ठा खेत सखाप बनाइदिन्छ । आँखा झिमिक्कै गर्न पाइँदैन ।’

केही दिनदेखि वन क्षेत्रमा पस्न थालेको हात्तीले खेतबारी मात्र नभई ज्यानै हत्केलामा राखेर बस्नुपरेको स्थानीयको गुनासो छ । हात्तीको समूहले बरहथवा, हरिवन र हरिपुर क्षेत्रमा निकै दुःख दिइरहेको छ । बाली भित्र्याउने बेलामा हात्तीले आतङ्क मच्चाउँदा आफूहरूलाई निकै समस्या भएको हरिपुर नगरपालिका–२, सखुवाका किसान रवि कडरियाले बताए । यो एक हप्तामा मात्रै उनको पाँच कट्ठा खेतमा लगाइएको मकै हात्तीले कुल्चिएर नास गरिदिएको छ । ‘हात्तीले निकै दुःख गरेर हुर्काएको मकै नाश गरेको छ । बाली हेर्दा पनि भक्कानो फुटेर आउँछ’, उनले भने ।

विगतमा हात्ती आउने गरे पनि यसरी बाली नाश गरेको भने पहिलोपटक गरेको स्थानीय केदार बुढाथोकीको भनाइ छ । हरिपुर्वा नगरपालिकाको सखुवा आसपास क्षेत्रमा मात्र केही दिनदेखि जङ्गली हात्तीले पाँच बिगाहाभन्दा बढी खेतको मकैमा क्षति गरिसकेको उनले बताए ।

अर्का किसान इन्द्रबहादुर खड्काले हात्तीलाई टिनका भाडा ठटाएर र होहल्ला गरेर भगाउने गरेको सुनाए । कैयन दिन हात्तीसँग जम्काभेट हुँदा भागेर ज्यान जोगाएको उनले स्मरण गरे । ‘बालीनालीसँगै हात्तीले कुन दिन ज्यान लिने हो पत्तो छैन तर बाली जोगाउन यसरी बस्नुको विकल्प पनि छैन’, खड्काको कथन छ ।

यहाँ हरिण, नीलगाई, बनेललगायतका जङ्गली जनावरको पनि त्यस्तै आतङ्क छ । यहाँको मूर्तिया जङ्गल क्षेत्रका केही किसानले यी जनावरबाट बाली जोगाउन आफ्नै लगानीमा करिब एक किलोमिटर क्षेत्रमा तारजालीसमेत लगाएका छन् । जङ्गली जनावरको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले आवश्यक सहयोग गर्न स्थानीयको आग्रह छ ।

हरिपुर नगरपालिका–१, का वडाध्यक्ष नानीबाबु थापाले हात्तीका कारण स्थानीय नागरिक आतङ्कित बनेको बताए । यो समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले यो क्षेत्र हात्ती हिँड्ने पुरानो जैविकमार्ग भएकाले समस्या हुने गरेको बताए । विसं २०२८ सम्म नगर क्षेत्रमा हात्ती स्याहार केन्द्र रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँका हात्तीलाई २०३६ सालसम्म पर्सा र चितवन पु¥याइएको थियो तर आफू हिँडेको, घुमेको ठाउँहरू छिट्टै नभुल्ने भएकाले पनि आफ्ना सन्तानलाई लिएर बर्सेनि यहाँ आउने गरेका हुन् । हाल हात्तीले क्षति गरेका स्थानमा पहिले वन भएकाले यो समस्या आउने गरेको छ ।’

यस्तोमा मानिस आँफैले सावधानी अपनाएर हात्तीलाई आफ्नो हिसाबले फर्कन दिनु नै सही हुने भन्दै कार्यालय प्रमुख झाले त्यले क्षति गरिहालेमा राहत उपलब्ध गराउने प्रावधान रहेको बताए । उनले क्षतिको निवेदन लिएर आए आफूहरूले राहतका लागि निकुञ्जमा पठाई सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया