बिहीबार, वैशाख १८, २०८२

‘चलचित्र ‘झिल्को’ले डिजिटल कुलतबाट निस्किन सहयोग गर्छ’

नेपालखोज २०८२ वैशाख १८ गते १९:०८

काठमाडौं । मानिसको जीवनमा मोबाइल अभिन्न हिस्सा बनिसकेको छ । एक समय थियो जब मोबाइल केवल सम्पर्कको माध्यम थियो, तर आज त्यो जीवनशैली निर्धारण गर्ने शक्तिमा परिणत भएको छ । डिजिटल कुलतको लतमा बालबालिका पनि परिरहेका छन् ।

खाना खानुभन्दा पहिले मोबाइल चलाउनु, अनलाइन गेम र युट्युबमा श्रव्यदृश्य हेर्नु बालबालिकाका लागि सामान्य भइसकेको छ । यी र यस्तै विषयलाई समेटेर निर्देशक यादव भट्टराईले चलचित्र ‘झिल्को’ तयार गरेका छन् । चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् । टेली शृङ्खला हुँदै चलचित्रमा अभिनय गर्न थालेका अभिनेता पोखरेलले चलचित्र गरेर आफूले नयाँ विषयमा ज्ञान पाएको बताए ।

उनले भने, ‘अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नु अगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेष गरी बालबालिकालाई बचाउनु जरुरी छ ।’

चलचित्रमा अभिनय गर्ने तय भएपछि उनी आफैँले सामाजिक सञ्जालमा उपस्थिति कम गर्न थाले । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाल्नुभयो । यसले विस्तारै आएको परिवर्तनलाई उनले महसुस गरेका छन् ।

‘अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहान मात्र खुल्छ । मैले सुरुआती समयमा बच्चालाई मनाउन कठिनाईको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो’, अभिनेता पोखरेलले भने ।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा दीपक बज्राचार्यले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देव व्रतले कथा लेखनको काम गरेका छन् ।

प्रतिक्रिया