बुधबार, जेठ २, २०८१

‘गीतका शब्द सबैलाई पच्ने खालको हुनुपर्छ’

नेपालखोज २०७८ भदौ ११ गते ९:५१

‘हिट हुने नाममा समाजले नपचाउने गीत गाउनै हुँदैन’

बागलुङको गल्कोट पुर्ख्यौली घर भई चितवनमा जन्मे–हुर्केकी गायिका रीतु कँडेलको बसोबास अहिले काठमाडौंमै छ । काठमाडौंलाई कर्मथलो बनाएकी गायिका कँडेल १४ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छिन् । उनले तीज गीत गाउन थालेको भने आठ वर्ष भयो । गायनको क्षेत्रमा शास्त्रीय संगीतमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेकी गायिका कँडेलको गायनविधा शास्त्रीय, आधुनिक र पप गीत हो । गायिका कँडेल हिट हुने नाममा समाजमा नपच्ने खालका गीत गाउनु हुँदैन भन्छिन् । प्रस्तुत छ गायिका कँडेलसँग नेपालखोजका लागि केशव भट्टराईले गरेको कुराकानी । www.nepalkhoj.com हेर्दै र पढ्दै गर्नुहोला । यहाँको सल्लाह तथा सुझावको हामी सधैं अपेक्षाकृत छौं ।

हाइलाइट्स :
–मेरो गायन विधा शास्त्रीय, आधुनिक र पप हो । तर लोकगीत पनि गाउने गरेको छु ।
–कोराना महामारीका कारण गत वर्ष मैले तीज गीत निकाल्न सकिनँ । यसपालिको तीज गीत मैले नेपाली दिदीबहिनीका लागि आफ्नै शब्द–संगीतमा लिएर आएकी छु । दिदीबहिनी, चेलबेटी, माइती, विछोडलगायत विषय गीतमा समेट्न खोजेको छु ।
–समय सन्दर्भमा आधारित भएर पुरानादेखि नयाँ पुस्ताले गाएका गीत मलाई सबै राम्रा लाग्छन् । भावले, लयले छोयो भने कुन गायकले गाएको भन्ने हुँदैन । तर पुराना गीतमा चाहिँ घरपरिवारमा भोग्नुपरेका समस्याहरूको मर्म हुन्थ्यो । अहिलेचाहिँ त्यो छैन ।
–पहिलेको समयमा एउटै गीत गाउन कलाकारलाई ६ महिनासम्म रेडियो नेपालमा धाउनुपथ्र्यो । एक टेकमा ओके गर्नुपथ्र्यो । भएन भने तीन–चार महिना कुर्नुपर्ने हुन्थ्यो । तर अहिले प्रविधिको विकासका कारण जुनसुकै गीत पनि एकैछिनमा गाउन सकिन्छ ।
–गायक–गायिका अहिले युट्युबलगायत सामाजिक सन्जालबाट हिट हुन खोजिरहेका हुन्छन् । गीतको लय, शब्द र भावलाई केलाउन छोडेर मलाई कसरी दर्शक स्रोताले चिन्न सक्छन् भन्नेमा मात्रै ध्यान गएको छ ।
–‘यसपालिको तीजमा हे भोले मलाई एउटा बेउलो जुराइदेऊ’ बोलको गीतले मेरो जीवनमा मेल खाएको छ । हरेक अविवाहित नारीको चाहाना राम्रो पति पाउँ भन्ने हुन्छ । संयोगवश गीत मेरा लागि पनि मिल्न गएको हो ।
–‘रातो सारी सरक्क सरक्क सर्काउँदै…’ बोलको गीत मैले गाएको आधुनिक र लोकगीतको मिश्रण हो । तर विष्णु माझी र विमाकुमारी दुराको जस्तो हाम्रो गीत हुँदैन । उहाँहरूको स्वर लोकको लागि नै बनेको हो । तर मेरो ‘टोन’ भनेको आधुनिकमा बढी छ ।
–तीज गीत भनेको विशेष गरेर नारीका लागि हो तर, पछिल्लो समयमा पुरुषहरूले पनि गाउन थालेका छन् । तीज भनेको नारीको वेदना, सुख–दुःख पोख्ने माध्यम हो । यस्तो बेलामा संस्कृतिलाई जोगाउनु कलाकारको कर्तव्य पनि हो ।
–एउटा गीत रेकर्ड गर्नै महँगो लगानी लाग्छ । प्रतिस्पर्धा छ बजारमा । यसपालि तीज गीत गाउँदिनँ भनेको भए पनि त हुन्थ्यो । तर मलाई त्यसो गर्न मन लागेन किनकि कला–संस्कृतिलाई जोगाउनु हामी कलाकारको कर्तव्य हो । आफू पनि नारी र तीज नारीको पर्व पनि भएकाले हरेक वर्ष तीज गीत निकाल्नु मेरो कर्तव्य हो ।
–गीत–संगीत भन्ने विषय हल्का हुनुहुन्न । गीतका शब्द सबैलाई पच्ने खालको चयन गर्नुपर्छ । सबै कलाकारले हिट हुने भनेर विकृति ल्याउने गीत गाउनु हुँदैन । सबैले सुन्ने खालका गाउनुपर्छ ।

‘हिट हुन द्वयर्थक गीत गाउनै पर्दैन’

प्रतिक्रिया