शुक्रबार, वैशाख २६, २०८२

नीति तथा कार्यक्रममाथिको छलफल जारी

नेपालखोज २०८२ वैशाख २६ गते १९:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शान्ति श्रेष्ठले बालबालिकाको समग्र पक्षको विकासका लागि सरकारले छुट्टै बजेट व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भने, हजारौँ सडक बालबालिका, अभिभावकविहीन बालबालिका, हजारौँ नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले जन्मदर्ता पाएका छैनन्, तिनीहरूका बारेमा पटकपटक सदनमा कुरा उठेको छ, तर अझै पनि नेपाली बालबालिकालाई नेपाली नागरिक हो भन्ने पहिचानसमेत दिन सकिएको छैन ।

उनले नीति तथा कार्यक्रमको ८१ नम्बर बुँदामा ‘बालबालिकाको शारीरिक तथा मानसिक विकास र संरक्षण गरिने छ । सडक बालबालिकाका लागि पारिवारिक पुनर्मिलन, सामाजिक पुनस्र्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइने छ । बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ’ भनिए पनि त्यसका लागि छुट्टै नीतिको आवश्यकता पर्नेमा जोड दिए ।

सरकारले बालबालिकासम्बन्धी सही तथ्याङ्कसमेत राख्न नसकेको उल्लेख गर्दै सांसद श्रेष्ठले सडक बालबालिका, अभिभावकविहीन बालबालिका, नेपाली आमाबाट जन्मिएका बालबालिकाको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाएर जन्मदर्ता र नागरिकता वितरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, धेरै बालबालिका लागुऔधष दुव्र्यसनबाट प्रभावित छन्, बाल सुधारगृहमा अघिल्लो वर्ष घटेका घटनाबारे हामी सबैलाई सर्वविदितै छ, विभिन्न समूहका बालबालिकाको जिम्मा दिए पनि आवश्यक कार्यक्रम बनाएर सुधार गर्न र सुरक्षित राख्नुपर्ने देखिन्छ ।

उनले संविधानको धारा ३९ मा उल्लेख ‘प्रत्येक बालबालिकालाई परिवार तथा पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने व्यवस्थालाई सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने माग गरे । बालबालिकालाई दिइँदै आइएको पोषण भत्तालाई ५३२ बाट बढाएर एक हजार बनाउनुपर्ने माग पनि उनले गरे।

प्रतिक्रिया