मंगलबार, जेठ ७, २०८२

अवैध चोरी तस्करी रोक्न सीसी क्यामेरा

नेपालखोज २०८२ जेठ ७ गते ७:२१

वीरगञ्ज (पर्सा) । अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न यहाँका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णयानुसार सोमबार वीरगञ्जको छपकैया, सिर्सिया, बलिरामपुर, अलौँलगायत स्थानमा दुई–दुई ठाउँमा गरेर आठवटा सिसी क्यामेरा जडान गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले आइतबार वीरगञ्ज महानगरको छपकैया, सिर्सियालगायत ठाउँमा सिसी क्यामेरा जडान गर्न अवरोध गरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति राधेश्याम धिमाललगायतको उपस्थितिमा छपकैया र सिर्सियासहितका चार स्थानमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको छ ।

त्यसैगरी, बलिरामपुरमा दुई, अलौँमा दुईवटा सिसी क्यामेरा जडान गरिएको हो । सिसी क्यामेरा जडान गर्न गएका भन्सारका कर्मचारी टोलीलाई अवरोध पु¥याएपछि सोमबार स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको संयोजक प्रजिअकै नेतृत्वमा टोली नै पुगेर सिसी क्यामेरा जडान गरेको प्रजिअ अर्यालले जानकारी दिए ।

प्रजिअ अर्यालले सीसी क्यामेरा जडान भएसँगै भन्सार छली गरेर अवैध मालसमान ओसारपसार गर्नेलाई मनोवैज्ञानिक तवरले पनि तस्करी नियन्त्रणमा सघाउ पुर्याउने आशा राखेको बताए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा कार्यालयले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरेको जानकारी दिए ।

कार्यालयले सम्भावित चोरी निकासी तथा तस्करी हुनसक्ने जोखिमयुक्त ठाउँमा लक्षित गरेर सिसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिँदै जाने बताए । उनले आगामी दिनमा पर्सा र बाराका छोटी भन्सार कार्यालय, नाका तथा अन्य संवेदनशील ठाउँमा पनि सिसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिए । -रासस

प्रतिक्रिया