शुक्रबार, जेठ २४, २०८२

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ

नेपालखोज २०८२ जेठ २२ गते १७:००

काठमाडौं । अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिक गरी १७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न देशका नागरिकलाई ह्वाट्सएप/टेलिग्राममार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२६ जैनखेल भ्यूटावरस्थित घर र सोही महानगरपालिका–१० नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप १४ थान, मोबाइल ६० थान, विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिको नामको भिसा कार्ड १५ थान, नेपाली राहदानी ४ थान र भारतीय राहदानी ४ थान समेत बरामद गरेको छ ।

उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया