शुक्रबार, जेठ २४, २०८२

सभामुख घिमिरेसँग राजदूत अब्देलघानीबीच भेट

नेपालखोज २०८२ जेठ २२ गते २१:२५

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवैतर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको बताए । सभामुख घिमिरेले सन् २०१७ मा दुई देशबीच द्विपक्षीय श्रमसम्झौता भएपछि जोर्डनमा करिब तीन हजार नेपाली कामदार विशेषगरी महिला कामदार घरेलु काम तथा गार्मेन्ट सेक्टरमा कार्यरत रहेको बताए ।

सभामुखले नेपालमा हुने रासायनिक मल अभावका लागि जोर्डनसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै नेपालको कृषिजन्य उत्पादनलाई आफ्नो मुलुकमा लैजानका लागि सहयोग गर्न राजदूतको ध्यानाकर्षण गराए । उनले हाल नेपाल आर्थिक वृद्धिलाई तीव्र पार्न, दिगो विकास लक्ष्य हासिल गर्दै अल्पविकसित राष्ट्रबाट यथा समयमै स्तरोन्नति सुनिश्चित गर्न क्रियाशील रहेको बताए ।

जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले दुई मुलुकबीच अन्तरराष्ट्रिय व्यापार सम्बन्ध वृद्धि गर्ने प्रचुर सम्भावना रहेको बताउँदै त्यसबाट दुवै मुलुकले फाइदा लिनसक्ने बताए । उनले जोर्डनमा नेपाली कामदारलाई आफ्नो मुलुकले पारिश्रमिक र सामाजिक सुरक्षा सम्झौताबमोजिम प्रदान गरिरहेको जानकारी दिए । नेपाल र जोर्डनबीच १९६५ अगस्ट २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध प्रगाढ र सुदृढ रहेको बताए । -रासस

प्रतिक्रिया