सोमबार, जेठ २७, २०८२

बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न अभिमुखीकरण

नेपालखोज २०८२ जेठ २७ गते ८:०९

बनियानी (झापा) । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।

बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताए । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उनले भने, अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु । माटोबाट सानो दियो र ठूलो घैला दुवै बन्ने भएकाले ठूलो बन्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले तीन वटा मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताए । बालमैत्री नगरपालिकालाई यथावत राखेर अझ सक्रिय बनाउन यस्ता कार्यक्रम गर्ने गरिएको उनले बताए । बालमैत्री नगर घोषणा भएपछि केही न केही उपलब्धि हासिल भएका छन्, उनले भने, उपलब्धिहरुलाई आत्मसात गरेर अझ बालबालिकाको बृहत्तर हितमा काम गर्न बाल क्लब, बाल सञ्जाल र विद्यार्थीहरुको साथ र सहयोग आवश्यक छ ।

नगर बाल सञ्जाल अध्यक्ष उत्सव पाण्डेले भद्रपुर नगर क्षेत्रमा २२ हजारभन्दा बढी बालबालिका रहेको जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडा बाल सञ्जालका अध्यक्ष एवं प्रतिनिधि, पाँचवटै वडाका सबै सामुदायिक तथा निजी विद्यालयका चार-चार जनाको सहभागिता रहेको नगरबाल सञ्जालका सचिव समीर निरौलाले जानकारी दिए ।

नगरबाल सञ्जालले गत माघमा भद्रपुर वडा नं. ६ देखि १० नम्बर वडाका बालबालिकालाई समेटेर अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया