सोमबार, जेठ २७, २०८२

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

नेपालखोज २०८२ जेठ २७ गते १४:५२

काठमाडाैं । विश्वविद्यालयका विद्यार्थीलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी मलेसियामा एउटा मिनिभ्यानमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र उद्धार सेवाहरूले बताएका छन् ।

थाई सीमा नजिकैको व्यस्त पूर्व-पश्चिम राजमार्गमा गेरिक सहर नजिकै १३ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको थियो । मलेसियाको खतरनाक सडकमा एक दशकभन्दा बढी समयमा भएको यो सबैभन्दा घातक दुर्घटना हो ।

‘बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनिभ्यानलाई ठोकेको जस्तो देखिन्थ्यो’, पेराक राज्य प्रहरी प्रमुख हिशाम नोर्दिनले भने ।

अग्नि र उद्धार विभागले खिचेका घटनास्थलका तस्बिरहरूले देखाएअनुसार हरियो बस दाहिने छेउमा पल्टिएको थियो र पछाडिको भागको आवरण भाँचिएको थियो भने रातो मिनिभ्यान खाडलमा खसेको थियो र यसका झ्यालहरू फुटेका थिए ।

‘केही पीडित आफैँ बाहिर निस्कन सफल भए, केही पीडित बाहिर फ्याँकिए भने अन्यहरू अझै बसमा फँसेका थिए’, पेराक राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक विज्ञप्तिमा भन्यो ।

उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गर्नुपरेको थियो ।

मृत्यु हुनेमा सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी थिए भने अन्तिम पीडित बस परिचारक थिए । अन्य ३३ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

अधिकांश पीडित २१ देखि २३ वर्षका थिए । उनीहरू उत्तरपूर्वी मलेसियाको जेर्तेह सहरबाट यात्रा गरिरहेका थिए । दुर्घटना स्थानीय समयानुसार बिहान १ः०० बजेपछि भएको थियो । रासस

प्रतिक्रिया