अवैध लागूऔषध सहित तीन जना पक्राउ

नेपालखोज २०८२ साउन २ गते १६:३८

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित भारत खाकरावाली बस्ने ३१ वर्षीय कौशिक साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००२ ख ०९४७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ निसाने डाँडाबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित मोरङ रंगेली बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ७८ ग्राम सहित सिम्रौनगढ नगरपालिका–७ मलाही टोल बस्ने ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ

विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३ महाराजगंज चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न कार्यालयका होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाका रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाका बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान लगायतका सामान समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा सफराजले बिगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुल्न आएको छ ।

उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ

गौर नगरपालिका–२ महादेवपट्टी टोलबाट स्रोत नखुलेको नगद ३ लाख रूपैयाँ सहित भारत बिहार सितामढी बैरगनिया नगरपंचायत–१३ बाबालाल दास मठ टोल बस्ने ४३ वर्षीय महेश कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ७ सय किलो गाँजा बरामद

सुखीपुर नगरपालिका–४ पोखरिया बस्ने ६० वर्षीय मेदि यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ७ सय १७ किलो ६ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी सिलौर्वापछवारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा २७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार मेदिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया