युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

तेहरान । ईरानले आगामी कुनै पनि वार्तामा अमेरिकालाई आफ्नो आणविक साइटहरूमा आक्रमण गरेको विषयमा जवाफदेही बनाउने बताएको छ । साथै, उसले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना पनि अस्वीकार गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सोमबार पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि सम्भावित वार्तामा, अमेरिकाले ईरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्नेछ ।’
गत जुन २२ मा इजरायलद्वारा सुरु गरिएको युद्धमा संक्षिप्त रुपमा अमेरिकाले पनि भाग लिँदै ईरानका फोर्डो, इस्फाहान र नताञ्जका आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो ।
यसले अप्रिलदेखि सुरु भएको उच्च–स्तरीय वार्ता प्रक्रियालाई अवरुद्ध ग¥यो । इरानले त्यसयता संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (आइएइए) सँगको सहकार्य निलम्बन गरेको छ र वार्ता पुनः सुरु हुनुभन्दा पहिला सैन्य आक्रमण विरुद्धको ग्यारेन्टी माग गरेको छ ।
अमेरिकाले भने ईरानको क्षतिपूर्तिको मागलाई ‘हास्यास्पद’ भन्दै खारेज गरिसकेको छ । बकाईले ईरान आणविक अप्रसार सन्धि (एनपीटी) मा प्रतिबद्ध रहेको बताए पनि आइएइएको कार्यशैली ‘राजनीतिक र गैर–व्यावसायिक’ रहेको आरोप लगाए । उनका अनुसार, आइएइएका उपप्रमुख १० दिनभित्र ईरान भ्रमणमा आउनेछन् ।
पछिल्लो महिनामा, ईरानले आइएइएसँगको भविष्यको सहकार्य नयाँ ढाँचामा हुने घोषणा गरेको थियो । जुलाई २५ मा, युद्धपछिको पहिलो पटक ईरानी कूटनीतिज्ञहरूले जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग वार्ता गरेका थिए । -रासस/एएफपी








प्रतिक्रिया