‘तीन वर्षभित्र भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हल निर्माण हुन्छ’

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी तीन वर्षभित्र काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बुधबार आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ को उद्घाटन गर्दै उनले तीन वर्षभित्र भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हल निर्माण गर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले चालू आर्थिक वर्षको बजेटमा भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउने कुरालाई उच्च महत्वका साथ समावेश गरेको छ ।’
मन्त्री पौडेलले हाल प्रदर्शनी आयोजना गर्दा निजी क्षेत्रले भोग्नुपरेको कठिनाइ सरकारले बुझेको बताए । उनले ढिलोमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढिसकेको जानकारी दिए ।
अर्थमन्त्री पौडेलले अटो मोबाइल क्षेत्रको विकासका लागि गुणस्तरीय सडक पूर्वाधार अनिवार्य रहेको बताए । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एक्सप्रेस वे का रूपमा स्तरोन्नति गर्ने, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिएको उल्लेख गरे ।

प्रतिक्रिया