हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।
हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए ।
हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका लागि सँगै काम गर्न, नेतृत्व गर्न र साझेदारी गर्न नेपाल तयार छ । हाम्रा कदमले जलवायु न्यायमा काम गर्न विश्व समुदायलाई प्रेरित गर्न सकोस्, प्रधानमन्त्री ओलीले भने, हिमालय अर्बौं मानिसहरूको जीवन र जीविकोपार्जनको स्रोत मात्र होइन, यो हाम्रो पहिचान, राष्ट्रिय गौरव, हाम्रो वर्तमान र भविष्य हो । यसका साथै हिमालय र महासागरहरूलाई एकअर्कामा रिचार्ज गर्ने माध्यम पनि हो ।
प्रधानमन्त्री ओलीले पृथ्वीको कुलिङ सेन्टरका रुपमा रहेका हिमाललाई लोप हुन नदिने प्रयास नेपालको चाहनाले मात्र नभई कार्बन उत्सर्जन गर्ने मुलुकहरुलेसमेत गम्भीरता प्रदर्शन गरेमा मात्रै पूरा हुने स्पष्ट गरे । उनले हिमनदी पग्लने समस्या नेपालजस्ता देशका लागि मात्र वातावरणीय चिन्ताको विषय नभई यो हाम्रो विकास, सुरक्षा र अस्तित्वको मुटुमा प्रहार गर्ने निरन्तर खतरा भएकाले यसको रक्षा अत्यावश्यक भएको बताए ।
नेपाल हिमनदी ताल फुट्ने बाढीको विनाशको सिकार भइसकेको छ । हिमनदी ताल फुटेर नेपाल र चीनको नाका रसुवागढीमा विनाशकारी बाढीका कारण मानवीय र भौतिक क्षति भयो । यस्ता जलवायुजन्य विपत्तिहरू बारम्बार भइरहेका छन् । भविष्यमा पनि यस्ता खतरा उत्पन्न हुन सक्छन्, प्रधानमन्त्री ओलीले भने, यसका कारण हाम्रो कृषि, जलविद्युत्, पर्यटन र जैविक विविधतामा जोखिम बढ्दो छ । यी खतराहरू हाम्रो राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएका छन् । हाम्रो भविष्यलाई जोखिममा पार्न सक्छन् । त्यसैले यसमा विश्व साझेदारी आवश्यक छ, नेपाल त्यो साझेदारी बढाउन तप्पर छ ।

प्रतिक्रिया