शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेश

नेपालखोज २०८२ भदौ २ गते २०:१३

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेश भएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए । अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरुका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने उनले बताए ।

उनले पूर्ण छात्रबृतिका बिषयमा आफ्नो जोड रहेपनि राज्यले धान्न सक्ने गरि उत्तरदायी बन्नुपर्ने धारणा राखे । केहि प्रतिशत निजि र केहि प्रतिशत सरकारले थप गर्ने गरि बिपन्नलाई पूर्ण छात्रबृतिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उहाले बताए ।

त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश बिषय सरकारले स्वीकार गरिसकेका बिषय उल्लेख भएपनि अध्इयनका लागि दुई दिनको समय दिन आग्रह गरे । उनले विधेयक अघि बढाउन निकै ढिलाई भएकाले छिटो पारित गर्न पनि आग्रह गरे ।

समितिमा पेश भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया