बिहीबार, पुष १०, २०८२

मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन

नेपालखोज २०८२ भदौ ९ गते १३:४०

काठमाडौं । मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् । यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन् ।

अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए । त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ ।

लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ । सेलाम लुसीभन्दा झण्डै एक लाख वर्ष पहिले बाँचेको दुई वर्ष सात महिनाको बच्चा अस्ट्रेलोपिथेकस हो । यसको जीवाश्म लुसी फेला परेको २५ वर्षपछि सोही क्षेत्रमा पाइएको हो ।

लुसी पत्ता लगाउने डोनाल्ड जोहानसन र सेलाम पत्ता लगाउने जेरिसेने अलेम्सेगेड दुवै प्रागमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

‘सेलामलाई अहिलेसम्म कहिल्यै इथियोपियाबाहिर प्रदर्शन गरिएको छैन र लुसीलाई केवल एक पटक मात्र संयुक्त राज्य अमेरिकामा देखाइएको थियो’, राष्ट्रिय सङ्ग्रहालयका निर्देशक माइकल लुकेसले भने ।

अगस्ट १५ मा अवशेषहरू प्राग आइपुगेपछि उनले यसलाई ‘विश्वकै सबैभन्दा बहुमूल्य र प्राचीन पुरातात्त्विक प्रदर्शनीमध्ये एक’ भनेर वर्णन गरे ।

आदीस अबाबामा रहेको इथियोपियाको राष्ट्रिय सङ्ग्रहालयले उधारो दिएको ५२ टुक्रा अवशेषहरू ‘मानव उत्पत्ति र जीवाश्म’ प्रदर्शनीअन्तर्गत ६० दिनका लागि प्रदर्शनीमा राखिनेछन् ।

इथियोपियाली हेरिटेज अथोरिटीका निर्देशक अबेबाव अयाल्यु गेल्लाले यो प्रदर्शनीले ‘इथियोपियालाई मानव मूलको भूमिका रूपमा प्रवर्द्धन गर्ने’ बताए ।

प्रतिक्रिया