एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ । ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै आजको बन्दसत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए ।
यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका थिए । प्रचार विभाग प्रमुख गौतमले आइतबार बिहान ८ बजेबाट सुरु हुने महाधिवेशनमा आज प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताले आआफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराए ।
उनले भने, ‘त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ ।’ महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमा पनि समूहगत छलफल गरिएको थियो ।
महाधिवेशनमा भोलि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया