त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित

नेपालखोज २०८२ असोज १९ गते ११:३७

काठमाडौं । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् ।

प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए ।

उनले भने, ‘बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित उडान तथा अवतरण भइरहेका छन् ।’ जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलको आन्तरिकतर्फ यात्रुहरुको चाप बढेको जनाइएको छ ।

शनिबार आन्तरिकतर्फका सबै उडान तथा अवतरण स्थगन भएपछि रोकिएका यात्रु गन्तव्यतर्फ गइरहेका छन् । आज बिहान मौसम अनुकूल भएसँगै नेपालगञ्ज र भद्रपुरमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भइसकेको तथा पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि मौसम अनुकूल रहेकाले आन्तरिक उडान सुरु गरिएको महाप्रवन्धक पाण्डेले बताए ।

प्रतिक्रिया