भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी

नेपालखोज २०८२ कार्तिक १५ गते ६:५९

दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ का टेकबहादुर खड्काले व्यवसायिक भटमासखेती गर्न थालेको तीन वर्ष भयो ।

मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कठ्ठा क्षेत्रफलमा सो खेती गर्नुभएको थियो । अन्य खेतीको तुलनामा भटमासबाट तीन गुणा बढी फाइदा हुनथालेपछि उनले भटमास खेती विस्तार गर्दै डेढ विघा जग्गामा खेती गरेका छन् ।

उनले कम लगानीमा धेरै आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान भटमास खेतीमा लागेको बताए ।

दोधारा चाँदनीका किसान चार/पाँच वर्ष यता परम्परागत बाली लगाउन छोडेर भटमास खेतीमा लागेका छन् । मलखाद र सिँचाइको समस्या झेल्दै आएका यहाँ किसान थोरै परिश्रम र लगानीमा राम्रो आम्दानी हुने भएपछि भटमास खेतीमा आकर्षित भएका छन् । उनले भटमासमा किसानले रोजेको मुल्य पाइने बताए । उनले गत वर्ष ८५ रुपयाँ प्रतिकिलो भटमास बिक्री गरेको बताए ।

उनले किसानले उत्पादन गर्ने भटमास कुखुराको दाना उत्पादनका लागि व्यापारी घरमै आएर लग्ने भएकाले बिक्रीका लागि समेत पनि समस्या नभएको बताए । परम्परागत धानगहुँ खेतीभन्दा भटमासमा कम लागतमा मुनाफा बढी हुने गरेको उनको भनाइ छ ।

दोधरा चाँदनीमा तीन हजार ६०० हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये एकसय हेक्टर क्षेत्रफलमा भटमास खेती हुँदै आएको दोधारा चाँदनी नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टले बताए । भटामास खेती गर्ने किसानको सङ्ख्या बढेपछि अर्को वर्षदेखि किसान लक्षित कार्यक्रम ल्याउने योजना पालिकाको छ ।

प्रतिक्रिया