श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो । श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ६१८ जनाको ज्यान गएको छ । गत हप्ता आएको चक्रवातले २० लाख भन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसङ्ख्याको करिब १० प्रतिशत हो ।
यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ । प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार, चक्रवातका कारण पहाडी क्षेत्रहरू अस्थिर बनेका छन् । भारी वर्षाले अवरुद्ध भएका क्षेत्रहरूमा राहत पुर्याउन हेलिकोप्टर र विमान प्रयोग गरिएको छ । श्रीलङ्का एयर फोर्सले म्यानमाबाट प्राप्त नयाँ राहत सामग्री पनि वितरण गरेको छ ।
श्रीलङ्का सरकारले ६१८ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा ४६४ जना मध्य पहाडी चिया बगान क्षेत्रका छन् । अझै २०९ जनाको विवरण पत्ता लाग्न बाँकी छ । श्रीलङ्काका ७५ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको छ, जसमा करिब पाँच हजार घर पूर्ण रूपमा नष्ट भएका छन् । सरकारले शुक्रबार ठूलो क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ, जसले प्रभावित परिवारलाई घर पुनर्निर्माण र व्यवसाय सुरु गर्न सहयोग गर्नेछ ।
एक वरिष्ठ अधिकारीका अनुसार, पुनर्निर्माणमा करिब ७ अर्ब अमेरिकी डलर खर्च लाग्न सक्नेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अनुरोधमा थप २०० लाख अमेरिकी डलर सहयोग दिने बारे विचार गरिरहेको छ । उक्त रकम सन् २०२३ मा स्वीकृत २.९ अर्ब डलरको चार वर्षे ऋणको अतिरिक्त हो । राष्ट्रपति अनुुरा कुमारा दिस्सानायकले भने, श्रीलङ्काको अर्थतन्त्र सुधार भएको छ, तर यस प्रकोपको सामना एक्लै गर्न पर्याप्त बलियो छैन ।
सरकारले बाँचेकालाई सुरक्षित ठाउँमा नयाँ घर बनाउन सहयोग दिने योजना बनाएको छ । प्रत्येक मृत्यु वा स्थायी अपाङ्गता परेका व्यक्तिलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ । केन्द्रीय बैङ्कले सबै बैङ्कलाई कर्जाको पुनःसमायोजन गर्न आदेश दिएको छ, जसले नागरिकलाई आर्थिक राहत प्रदान गर्नेछ ।








प्रतिक्रिया