शुक्रबार, पुष ११, २०८२

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

नेपालखोज २०८२ पुष ११ गते १४:५१

वेनछाङ, हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको एक समूहलाई अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–८ए चीनद्वारा विकास गरिएको आधुनिक रकेट हो, जसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु हो । यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ र विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ ।

उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी दुवै प्रयोजनका लागि उपयुक्त क्षमताका कारण लङ मार्च–८ए चीनको अन्तरिक्ष कार्यक्रमको महत्वपूर्ण हिस्सा बनेको छ ।

बिहान ७ बजेर २६ मिनेटमा हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उडेको रकेटले न्यून पृथ्वी कक्षामा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यस सफल प्रक्षेपणले चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया