सुनसरीका तीन सय सञ्चारकर्मी निःशुल्क दुर्घटना बिमामा आवद्ध

नेपालखोज २०८२ पुष १२ गते १८:११

धरान (सुनसरी) । नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील तीन सय जना सञ्चारकर्मीका लागि निःशुल्क दुर्घटना बिमा उपलब्ध गराउने भएको छ ।

आगामी फागुन ७ गते आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहको अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

आज एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा तीन सय सञ्चारकर्मीकारु रु दुई लाख बराबरको निःशुल्क बिमा गर्नेसम्बन्धी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको रु दुई लाख बराबरको दुर्घटना बिमा गरिने छ । बिमा योजनाअन्तर्गत समाचार सङ्कलन (रिपोर्टिङ)को सिलसिलामा दुर्घटनामा परी घाइते भएमा रु एक लाखसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा रु दुई लाख प्रदान गरिने व्यवस्था गरिएको छ ।

बिमा सुविधा लिन सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चारसंस्थाको परिचयपत्र, प्रेस पास तथा सञ्चारगृहको सिफारिसपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिद्वारा आयोजना गरिएको ‘कोशी एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सुनसरीका तीन सय १४ जना सञ्चारकर्मीलाई रु एक लाख बराबरको दुर्घटना बिमा गरिएको थियो ।

यस वर्ष बिमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताउनुभयो । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबीच बिमा सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिने उनले बताए । -रासस

प्रतिक्रिया