बुद्ध भगवानको जन्मबिन्दुकोे मौन साक्षी: ‘जन्मस्मारक शिला’

नेपालखोज २०८२ पुष २४ गते ७:५८

इतिहाससँग यस्ता प्रमाण पनि हुन्छन्, जसले हजारौँ वर्षको अन्योललाई एकै झट्कामा चिर्न सक्छ। सन् १९९६ फेब्रुअरी ४मा लुम्बिनीमा यस्तै भयो। तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’ लाई संसारसामु सार्वजनिक गर्नु भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै प्राज्ञिक बहसहरूमा सदाका लागि ‘पूर्णविराम’ लाग्यो।

त्यही ढुङ्गा शाक्यमुनि बुद्धको जन्मको निर्विवाद ऐतिहासिक साक्ष्यको रूपमा पुजित छ। सन् १९९२ देखि १९९५ सम्म लुम्बिनी विकास कोष, नेपालको पुरातत्त्व विभाग र जापान बुद्धिस्ट फेडरेसनले संयुक्त रूपमा मन्दिरको जगसम्म पुगेर उत्खनन गर्दा मन्दिरको भग्नावशेषभित्र, १५ तहका इँटाहरूको सुरक्षात्मक घेरा (चेम्बर)भित्र त्यो प्राचीन ढुङ्गा विशेष रूपले सजाइएको अवस्थामा फेला परेको थियो।

लुम्बिनी बिकास कोष पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले भन्नुभयो, “यो ढुङ्गा ठ्याक्कै त्यही स्थानमा भेटिएको थियो, जसको मुनि ईसा पूर्व छैठौँ शताब्दीको काठको प्राचीन मन्दिरको अवशेष भेटिएको थियो।” यसले बुद्धको समयदेखि नै यो स्थानलाई ‘पवित्र’ मानी पूजा गरिँदै आएको तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गरिदिएको उहाँले बताउनुभयो। उप्रेतीका अनुसार, “अशोक स्तम्भको शिलालेखमा उल्लेखित ‘सिलाविगडाभिच’ शब्दले पनि यसै ‘जन्मस्मारक शिला’ लाई सङ्केत गर्दछ।”

७० सेन्टिमिटर लम्बाइ र ४० सेन्टिमिटर चौडाइ भएको ‘जन्मस्मारक शिला’ लुम्बिनीकै माटोमा पाइएको स्थानीयको दाबी छ। लुम्बिनी र बुद्ध धम्मका अध्येता भोला गुप्ताका अनुसार, “तत्कालीन लुम्बिनीका बासिन्दाले त्यो ढुङ्गा नजिकैको तेलार नदीबाट ल्याएर बुद्ध जन्मेको ठ्याक्कै बिन्दुमा चिनो स्वरूप राखेर पूजापाठ गर्दै आएको र ईसा पूर्व २४९ मा सम्राट अशोकले लुम्बिनी भ्रमणमा रहेका बेला देखेर त्यो ढुङ्गालाई सोही ठाउँमा बिधिवत स्थापना गरी आफू समेतले पूजापाठ गर्नुभएको थियो।”

बुद्धजन्मस्मारक शिला केवल एउटा ढुङ्गाको टुक्रा मात्र होइन, यो लुम्बिनीको अस्तित्वको आधार पनि हो” लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँनले भन्नुभयो। संयोजक खाँनका अनुसार “ ईसा पूर्व छैठौँ शताब्दीमा मायादेवी मन्दिरभित्र बुद्धको जन्मस्थानमा स्थापित यो ऐतिहासिक बुद्ध जन्मस्मारक शिला नभेटिएको भए विश्वले अझै पनि बुद्धको जन्मबिन्दु खोजिरहनु पर्ने अवस्था हुन्थ्यो।”

यो बुद्ध जन्मस्मारक शिलाको अध्ययन र उत्खननले प्राचीन ग्रन्थहरूको व्याख्यालाई समेत बलियो आधार दिएको छ। जन्मस्मारक शिलामुनिको माटो परीक्षण गर्दा त्यहाँ कुनै पनि मानवीय गतिविधिको अवशेष नभेटिएको हुँदा यसले प्राचीन ग्रन्थ ‘ललितविस्तर’ मा उल्लेख भएझैँ लुम्बिनी एक शान्त, स्वच्छ तथा रमणीय ‘वाटिका’(गार्डेन)नै थियो भन्ने कुरालाई वैज्ञानिक रूपमा पुष्टि गरिदिएको छ।

लुम्बिनीको पुरातात्त्विक उत्खननमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले आफ्नो लेख ‘द मार्कर स्टोन: द एक्ज्याक्ट बर्थप्लेस अफ लार्ड बुद्ध’ र ‘सबैभन्दा पुरानो बौद्ध तीर्थस्थल: बुद्धको जन्मस्थल लुम्बिनीको उत्खनन (२०१३)’ मा यो ‘जन्मस्मारक शिला’ सम्राट अशोक लुम्बिनीको तीर्थाटनमा हुनुभन्दा अघिदेखि नै सोही स्थानमा रहेको दाबी गर्नुभएको छ।

दुर्हम विश्वविद्यालयका प्रोफेसर राँबिन कनिङघमले ‘द आर्किओलोजी अफ साउथ एसिया: फ्राम द इन्डुस टु अशोका’ लगायतका शोधपत्रहरूमा मार्कर स्टोनमुनि भेटिएका काष्ठ संरचनाका अवशेषहरू (पोस्ट–होल्स)को अध्ययनका आधारमा ईसा पूर्व छैठौँ शताब्दीभन्दा अघि नै त्यहाँ धार्मिक संरचना रहेको दाबी गर्दै यसलाई विश्वकै सबैभन्दा पुरानो बौद्ध स्मारकका रूपमा व्याख्या गर्नु भएको छ।

प्रोफेसर कनिङघमका अनुसार, उत्खननका क्रममा भेटिएका लुम्बिनीका भग्नावशेषहरूले सम्राट अशोक आउनुभन्दा धेरै पहिलेदेखि नै यो स्थान एउटा महत्त्वपूर्ण धार्मिक केन्द्र रहेको प्रमाणित गर्दछन्। चिनियाँ तीर्थयात्रीहरू फा–हियान (सन् ४०३ ई.सं.) र ह्वेन साङ (सन् ६३६ ई.सं.)ले पनि आफ्नो यात्रा संस्मरणमा बुद्ध जन्मस्थलको विशेष चिह्न ‘जन्म स्मारकशिला’ बारे स्पष्ट उल्लेख गर्नुभएको छ।

स्थानीय बासिन्दाका लागि यो शिला उहाँहरूको पुर्ख्यौली विश्वासको एउटा जीवन्त दस्ताबेज हो। मायादेवी मन्दिरका पुस्तैनी पुजारी स्व.गङ्गा प्रसाद पाण्डेका छोरा एवं बौद्ध भिक्षु विवेकानन्दले भन्नुभयो, “हाम्रा पुर्खाहरूले यहाँ केही पवित्र चिज छ भन्नुहुन्थ्यो, उत्खननका बेला जब त्यो शिला देखियो, तब हामीलाई कति पुण्य भूमिमा रहेका छौँ भन्ने महसुस भयो।” उहाँका अनुसार, “यो शिला केवल अनुसन्धानको विषय नभई विश्वभरका बौद्ध मार्गीहरूको आस्थाको ‘लाइभ डकुमेन्ट’ हो।”

अहिले यो अमूल्य शिलालाई मायादेवी मन्दिरभित्र विशेष बुलेट प्रुफ सिसाको बाकसमा सुरक्षित राखिएको छ। मन्दिरभित्रको आद्र्रता (ह्युमिडिटी) तथा हानिकारक ग्याँसले शिलालाई क्षति नपुगोस् भनेर २४ सै घण्टा प्राविधिकहरूबाट निगरानी गरिन्छ। पुरातत्त्व विभागका अनुसार यसको सुरक्षा नेपालको मात्र नभई सम्पूर्ण मानव सभ्यता र विश्व सम्पदाको संरक्षणका लागि एउटा ठुलो जिम्मेवारी हो।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यकारी प्रमुख कल्पना हरिजनका अनुसार यो स्थानीयका लागि गौरवको सम्पदा हो। नगर प्रमुख कल्पनाले भन्नुभयो, “ऐतिहासिक रूपमा, तत्कालीन लुम्बिनीबासीले बुद्धको जन्म बिन्दुलाई सधैँका लागी पहिचानमा राखी रहन नजिकैको तेलार नदीबाट त्यो बलौटे ढुङ्गा ल्याएर चिनोका रूपमा राखेका थिए। जसलाई सम्राट अशोकले संरक्षण प्रदान गर्नुभयो।”

“बुद्ध जन्मस्मारक शिला बौद्ध मार्गीहरूको ऐतिहासिक आस्थाको भौतिक प्रमाण हो”, लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं बौद्ध भिक्षु डा.ल्हारक्याल लामाले भन्नुभयो, “यो मौन शिलाले विगत २६ सय वर्षको इतिहासलाई सुरक्षित राखेर विश्वलाई शान्ति, सत्य र अहिंसाको मार्ग देखाइरहेको छ।” उहाँका अनुसार, प्राचीन कालमा हजारौँ तीर्थयात्रीहरूले यस पवित्र शिलालाई स्पर्श गरेर आशीर्वाद लिने गर्दथे। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया