दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् ।
मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन् ।
अघिल्ला निर्वाचनको तुलनामा यसपटक पुराना दल र नयाँ दल, पुराना उम्मेदवार र नयाँ उम्मेदवारका विषयमा सहर र गाउँमा मात्रै होइन, चोक र चिया पसलमा समेत आ–आफ्नो कोणबाट चर्चापरिचर्चा गरिरहेको पाइन्छ । कसिलो बन्दै गएको निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाउन थालिएको छ ।
जसले गर्दा विगतमा आमसभामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने र उठेका विषयवस्तुबारे स्पष्ट पार्ने कार्य अहिले सामाजिक सञ्जाल दह्रिलो माध्यम बनेको छ । उम्मेदवारहरूले भौतिक रूपमा सम्भव नभएको अवस्थामा सामाजिक सञ्जाललाई नै चुनाव प्रचारको माध्यम बनाएका छन् ।
औपचारिक रूपमा आगमी फागुन ३ देखि १८ गतेसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । उम्मेदवारी दर्ता भएका दिनदेखि नै उम्मेदवारहरू आ–आफ्नो ढङ्गले मतदातासँगको साक्षात्कारमा पुगेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव सापकोटा उम्मेदवारलाई मतदातालाई कसरी खुसी पार्ने भन्ने दबाबका बीच विधायिकाको भूमिका पनि बुझाउने प्रयासमा रहेको बताउँछन् ।
“सहरी क्षेत्रका मतदाता परिवर्तन, सुशासनलगायत मुद्दामा केन्द्रित हुनुन्छ भने ग्रामीण क्षेत्रमा त्यहाँको पूर्वाधार र विकास निर्माणमा जोड छ । कानुन निर्माणको विषयमा कम चासो व्यक्त भएको छ”, मतदातासँगको साक्षात्कारमा रहेका नेता सापकोटाले भने ।
उनका अनुसार नवपुस्ताले विभिन्न समृद्ध मुलुकसँग तुलना गरेर उम्मेदवारसँग प्रश्न गर्ने गरेका छन् । नयाँ पुस्ताको तीव्र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्छ । सो क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका गरी १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
“अघिल्लो र अहिलेको निर्वाचन नितान्त नयाँ पृष्ठभूमिमा हुन लागेकाले यो निरन्रता मात्रै नभई विशेष प्रकृतिको निर्वाचन हो, अघिल्ला निर्वाचन निरन्ततामा नियमितता थियो । यो आकस्मिकता र विशेष परिस्थितिमा भएको हुन लागेको छ”, उनले भने ।
मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको ‘मुड’मा रहेको आफूले पाएको नेता सापकोटाले बताए । “वर्षौंदेखि कुनै पार्टीमा आबद्धता भएका मतदाता पनि उम्मेदवारलाई हेरेर मतदान गर्छौं भन्ने विचारमा हुनुहुन्छ”, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बर्तौलाले मतदातासँगको अन्तरक्रियामा पाँच वर्षका लागि निर्वाचित गरेर पठाएकामा ३२ महिना पुग्दा नपुग्दै पुनः निर्वाचनमा फर्कने स्थिति कसका कारण बन्यो भनेर जिज्ञासा राख्ने गरेको बताए ।
उनका अनुसार विगतका तुलनामा पछिल्लो समय निर्वाचित जनप्रतिनिधिहरू बेलाबखत गाउँ फर्केर जनताका माझमा पुग्ने अवस्थालाई मतदाताले सकारात्मक रूपमा लिएका छन् । “सैद्धान्तिक हिसाबले जनप्रतिनिधि कानुन र विधि निर्माता हुन् । तर सांसदलाई नै विकास निर्माणको अगुवामा मानेर खेलमैदान, धारा, पानी, सिँचाइ, मन्दिर, गुम्बा, अस्पताल, बाटो, विद्यालयलगायतको माग सम्बोधन गर्नुपर्छ भन्ने कतिपय मतदाताको भावना रहेको छ”, नेता बर्तौलाले भने ।
मतदातासँगको अन्तरक्रियामा नवपुस्तालाई राष्ट्रिय मामिला, स्वाधीनता, भौगोलिक अखण्डताका विषयमा अझ बढी साक्षात्कार गर्नुपर्ने महसुस भएको जनाउँदै उहाँले शासकीय प्रबन्ध, संवैधानिक व्यवस्था, दलीय व्यवस्थाका विशेषता, कार्यप्रकृति, लोकतान्त्रिक मूल्य मान्यता, संसद्, संसदीय मामिला र सांसदको भूमिकाका बारेमा बुझाउन ठूलो मेनहत गर्नुपर्ने बताए ।
नेता बर्तौलाले भने, “सहिष्णुता र हार्दिकताभन्दा कुनै दल विशेषको छाताभित्र रहेर नै पनि कतिपय दल र उम्मेदवारप्रति आलोचना, आवेग, उत्तेजना, भड्काउजस्ता दृष्टिकोण समाजमा प्रकट गर्न खोजिनु अव्यावहारिक छ । त्यसमा सुधारको खाँचो छ ।”
संसद्ले बजेट बनाउने हुँदा मतदाताले उठाएका विकास निर्माणसम्बन्धी माग सम्बोधन गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उनले संसद्मा रहँदा गुणस्तरीय कानुन निर्माणमा जनप्रतिनधिले कति ध्यान दियो भन्ने प्रश्न भने अत्यन्त कमजोर रहेको छ भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ उम्मेदवार मनिष झा निर्वाचनप्रतिको उत्साह र परिवर्तनको माहोल राम्रो देखिएको प्रतिक्रिया दिन्छन् । “अधिकारको लडाईं लडिरहेको मधेसले कार्यकारी भूमिकामा मधेस पुत्र पुग्दै गर्दा त्यो अवसरलाई गुमाउन हुँदैन भन्ने आमबुझाइ छ”, उनले भने, “हामीले ‘डेलिभरी’ दिन तयार छौँ, त्यही कुरा मात्रै उनीहरूको माग छ ।”
मतदाताको ठूलो माग नभएकाले विमानस्थल होइन, सडकमा किन खाल्डो छ भन्ने कुरा सोधिरहेको उल्लेख गर्दै नेता झाले विकास निर्माणको लागतअनुसारको गुणस्तर कामय नहुनुले भ्रष्टाचार भइरहेको छ भन्ने जनताको बुझाइ गलत नभएको बताए ।
भ्रष्टाचार न्यूनीकरण, सुशासनसँगै सार्वजनिक यातायात र सेवा प्रवाहमा सहजीकरण होस् भन्ने जनताको माग रहेको उल्लेख गर्दै उनले मुलुक सङ्घीयतामा गइसकेपछि केन्द्रीकृत रहेको सेवा प्रवाहलाई पनि विकेन्द्रीत गर्नुपर्छ भन्ने जनआवाज अझै आफूले पाइरहेको जानकारी दिए ।
सो निर्वाचन क्षेत्रमा पाँच पालिका र ३८ वटा वडा रहेको छ ।
नेपाली कांग्रेसका नेता एवं रौतहट निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार देवप्रसाद तिमिल्सिनाले आर्थिक अवस्था कमजोर रहेको देशमा खर्चिलो चुनाव पटकपटक हुँदा विकास निर्माणका लागि प्रयोग गर्नुपर्ने बजेट प्रभावित हुने विषयमा मतदाताबाट चासो र चिन्ता प्रकट भएको बताए । उनले भने, “त्यो रकम विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी गर्न पाए हुन्थ्यो भन्ने जनभावना छ, पाँच वर्षका लागि चुनेर पठाएका थियौँ, बीचैमा फर्केर फेरि मत माग्न आउनुभयो । देश र जनताको पक्षमा समयमै जेजस्तो काम गर्नुपथ्र्यो, त्यो समयमै नहुँदा यो अवस्था आएको हो कि भन्ने मतदाताको जिज्ञासा छ ।”
निर्वाचनमा सफलता प्राप्त भएमा जनताको भावनालाई आगामी दिनमा पनि सदनमा उठाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता तिमिल्सिनाले पछिल्लो समय उम्मेदवारभन्दा पनि मतदाता हरेक हिसाबले सजग र सचेत बन्दै गएको आफूले पाएको बताए । “शिक्षा, स्वास्थ्य, खानेपानी, आवास जिल्लाको मुख्य प्राथमिकता हुन् । निर्वाचनमा जनतामा निर्णायक भएकाले उहाँहरू रोजाइका आधारमा निर्वाचित हुने हो । नयाँ नेतृत्वसहित नयाँ एजेन्डा लिएर कांग्रेस अघि बढेको छ । यसपटक जनताको अपेक्षा पूरा गर्न सक्छौँ भन्ने विश्वास छ”, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री एवं सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अनिशा नेपाली गाउँमा गएर मतदातासँग भेटघाटको क्रम चलिरहेको बताइन् । “आफूहरूले उठाएका विकास पूर्वाधारका काम पूरा नभएको भन्ने जनगुनासो छ । भौतिक पूर्वाधार, जनजीविकाका सबाल सम्बोधन भएनन् भन्ने भागलाई आफू विजयी भएको खण्डमा पूरा गर्नेछु”, उनले भनिन् ।
नारायण न्यौपाने/अशोक घिमिरे(रासस)

प्रतिक्रिया