‘पछिका पिढीकालाई अमुल्य उपहार हुन सक्छ’

यो चित्र राणा प्रधानमन्त्री देव शम्शेरको दोश्रो श्रीमती रानी कृष्णकुमारी को हो । खासै बहुमूल्य नभए पनि यो चित्र हाल विश्वको नाम चलेकै कला संग्रहक अलकाजी फाउण्डेशनको संग्रहमा रहेको छ । देवशम्शेर भारत निस्काशित भएपछि फेयरलाँन प्यालेस, मसुरी गएर बसे । त्यही उनको स्वर्गारोहण पनि भयो ।
यिनै कृष्णकुमारी र देवशम्शेरको साहिली छोरी भुवनकुमारीको संग्रहमा रहेको करिव ८०० तस्विरहरु उनको देहरादुनको पुरानो घरमा रहिरहेको थियो । उनको पनाति पनातिनीहरुको लागी निकै समय बेकारको चिज भएर स्टोर कोठामा भण्डार भएर रह्यो । एक पटक त उनीहरुले जलाउने पनि तैयारी गरे । तर के सोचेर हो त्यसपटक जलाउन पाएनन् ।
अचानक एक दिन भुवनकुमारीको पनातिनी इशा सिंह शाहनीको भेट India Photo Archive Foundation का आदित्य आर्यसंग भयो । घरमा जलाउन सोचेर राखेका तस्विरहरु उनलाई देखाए । उनले ति सबै तस्विरलाई आधुनिक कम्प्यूटर प्रणालीबाट पूनर्जिवन दिए । साथै नाम दिए भुवन कुमारी देवी आर्काइव (Bhuvan Kumari Devi Archive) ।
केही वर्ष अगाडी करिव ८० तस्विरहरुको प्रदर्शन दिल्लीमा भयो । “निर्वासनमा” यो प्रदर्शनीले केवल ति तस्विरहरुले पूनर्जिवन पाएन । एक पटक फेरी आफ्नै भाइबाट देश निकालमा परेर राज्य गुमाएका एक सच्चा राज्य र जनताको भक्त उदार तथा सामाजिक उत्थान चाहने राणा प्रधानमन्त्रीको रुपमा भारतमा चर्चा चल्यो ।
हरेक भारतीय अखवारका मुख्य पृष्ठमा समाचार बन्यो । इतिहासको चर्चा भयो देवशम्शेरको योगदानको कथाहरु लेखिए । ति लेखहरु र फोटो प्रदर्शनीले देवशम्शेरका हरेक सन्ततीलाई आफ्ना पूर्वज बारेमा गर्व जाग्यो । थाहा हुनेलाई त थाहा थियो नै थाहा नपाएकाहरुले पनि थाहा पाए ।
तपाइको बुबा वा बाजेको पारिवारिक तस्विर तपाइको लागी निकै महत्वपूर्ण हुन सक्छ । तर तपाइको नाति वा पनातिको पालामा बेकारको चिज हुन सक्छ । नयाँ सजावटमा मग्न नयाँ पिँढीको लागी यि तस्विर महत्वहिन हुनजान्छ । केही समय स्टोरमा रहे पनि पछि कवाड जम्मा गर्नेलाइ बेचिन सक्छ वा जलाइन सक्छ ।
हामी कहाँ पनि कतिपयको घरमा यस्तै ऐतिहासिक तस्विरहरु भण्डारकोठाको कुनामा मिल्किएका हुन सक्छन् । ति तस्विरहरुलाई डिजिटल रुपमा सुरक्षित राखिदिनुभयो भने पछिका पिढीको लागी अमुल्य उपहार हुन सक्छ । सुनील उलककाे वालबाट

प्रतिक्रिया