आइतबार, वैशाख १४, २०८२

खेतालालाई मसला र रुमाल, आकाशे पानीकै भरमा किसान !

मीना साउँद २०७८ असार १५ गते ८:२४

असार १५ मा लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीबाटी चिटिक्क परेर रोपारहरू बीउ काट्ने, पखाल्ने र मेलो पट्याउने व्यस्त हुन्छन् ।

काठमाडौं । असार १५ अर्थात १८औं राष्ट्रिय धान दिवस । यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारा तय गरिएको छ । कोरोना संक्रमणका कारण विगतका वर्षहरूमा जस्तो रौनक नभए पनि दिवस सामान्य रुपमा मनाइँदै छ । साथै कृषकहरूले आजैका दिन रोपाइँको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाएर असार १५ मनाउने चलन छ ।

आजका दिन रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही-चिउरा खाने गर्दछन् । दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । असारे गीतको भाखाले पनि खेतगह्रा घन्किन्छन् । अझ जनकविकेशरी धर्मराज थापाको ‘हो हो माले हो हो…’ भन्ने गीतले यस दिनलाई विशेष बनाइदिन्छ । गीत गाएर रमाइलो गर्नुका साथसाथै आजको दिन रोपाइँमा असारको फल मानिने आँप, कटहरसहित दही-चिउरा खाइन्छ । यसरी रोपाइँसँगै दही-चिउरा खाने चलन रहेकाले आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिएको हो । यसरी दही-चिउरा खाँदा शरीरलाई ऊर्जा प्राप्त हुन्छ ।

असार पहिलो सातादेखि मनसुन सुरु भएपछि असार १५ मा खेत गह्रामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । असार १५ मा लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पट्याउने तर्खरमा जुटेका हुन्छन् ।

नेपाल कृषि प्रधान मुलुक
नेपाल कृषि प्रधान मुलुक हो । यहाँको मुख्य बाली भनेकै धान खेती हो । नेपालमा खासगरी परम्परागत रुपमा धान खेती गरिँदै आइएको छ । रैथाने बीउ र परम्परागत खेती प्रणालीले उत्पदानमा वृद्धि नहुने भएकाले यसलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न किसानमाझ विभिन्न कार्यक्रम गरी तथा यसको महत्त्वलाई झल्काउने हिसाबले धान दिवस मनाउने गरिन्छ । राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो महत्त्व राख्छ ।

कृषि-प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्त्व छ । मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १४ लाख ९१ हेक्टरमा धान उत्पादन हुने गरेको छ । प्रतिहेक्टर जमिनमा तीन टनभन्दा बढी उत्पादन हुन थालेको छ । जसअनुसार नेपालमा एक खर्ब ५० अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने गरेको छ ।

सामान्यत: नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् ।

असार १५ को महत्त्व
कृषकका लागि असार १५ को महत्त्व छुट्टै छ । साता-पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको माचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्रको निकै ठूलो महत्त्वको छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्छ भन्ने बूढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बूढापाकाको अर्को उखानले पनि असारको महत्त्वलाई पुष्टि गर्छ ।

रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकट रूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बीउ चढाइ परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्‌भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाएर नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रुमाल बाँड्ने पनि प्रचलन छ ।

किसान अझै आकासे पानीकै भरमा
एक आँकडाअनुसार नेपालमा धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धानभन्दा यसको उत्पादन भने कम हुन्छ । नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ ।

नेपालमा समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनाकवलदेखि २ हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिँदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला-पहिला मार्सी, तौली, थापचिनियाँ, बासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताइचिन, विन्देश्वरी, खुमल, मन्सुली, राधा-४ आदि विकासे जातका धान लगाइन थालेको छ ।

एक आँकडाअनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । खाद्यान्नमा आत्मनिर्भर बन्न धानको भूमिका महत्त्वपूर्ण हुन्छ तर पनि नेपालमा धान खेतीका लागि सिँचाइ असुविधा र सिजनमा बीउ नपाउनु बाधक बनेको छ । यद्यपि, पानीको अभाव बढ्दै जाँदा पानीबिनै सुक्खा ठाउँमा र कम मलमा पनि फल्ने धानको पनि विकास हुँदै गएको छ । अहिले पनि नेपालका धेरै किसान वर्षभरि काम गरे पनि आफूले उत्पादन गरेको खाद्यान्नले ६ महिना पनि नधान्ने अवस्थामा छन् । यस्तो अवस्थामा दिवसका रूपमा मात्रै धान दिवसलाई मनाउनुभन्दा यसको सार्थकताका निम्ति सम्बन्धित पक्षले पहल गर्न जरुरी छ ।

प्रतिक्रिया