आइतबार, वैशाख १४, २०८२

उपभोक्तामाथि एनसेलको दादागिरी, १५ दिनको समय दिएर प्राधिकरणले सोध्यो स्पष्टीकरण

दूरसञ्चार प्राधिकरणसँग अनुमति नलिई ‘हुवावे गेम लफ्ट’ सञ्चालन गरेको एनसेलले उपभोक्तालाई पनि थाहै नदिई अटो रिन्यू गरी अर्ब बढीको रकम कुम्ल्यायो ।

नेपालखोज २०७८ असार १८ गते २०:४७


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलसँग स्पष्टीकरण मागेको छ । एनसेल अजियटा लिमिटेडले विनाअनुमति ‘हुवावे गेम लफ्ट’ सञ्चालन गरेको भन्दै प्राधिकरणले १५ दिनभित्र सत्य-तथ्य बुझाउन भन्दै स्पष्टीकरण मागेको हो ।

‘एनसेलले हुवावे गेम कन्टेस्ट (एप ग्यालरी) बिजनेस ह्यान्डिङ फ्री र गेम लफ्टजस्ता सेवाहरुको महसुल दर प्राधिकरणमा स्वीकृत नगराई तथा प्राधिकरणको निर्देशनविपरीत अटो रिन्यू हुने गरी सञ्चालन गरेकाले १५ दिनको समय तोकेर स्पष्टीकरण माग गरिएको छ,’ प्राधिकरणको उच्च स्रोतले नेपालखोजलाई जानकारी दियो ।

स्रोतका अनुसार एनसेलले अनुमति नलिई सेवा सञ्चालन गर्नुका साथै अटो रिन्यू गरी उपभोक्ताको अर्बमाथिको रकम खाइदिएको अवस्थामा कारबाही किन नगर्ने ? र कन्जुमरलाई क्षतिपूर्तिबापत रकम किन नतिराउने ? भन्दै प्राधिकरणले १५ दिनको समय तोकेर स्पष्टीकरण सोधेको हो ।

‘एनसेलले हुवावे गेम लफ्ट एकपटक सेवा लिएका उपभोक्तालाई अटो रिन्यू गरेर अर्बभन्दा माथिको रकम हिनामिना गरेको पाइयो,’ स्रोतको दाबी छ, ‘गेम खेल्नका लागि एकपटक रिन्यु गरेकालाई नखेले पनि रिन्यु गरिदिने गरेको रहेछ । यसबाट एनसेलले ठूलो पैसा जम्मा गरेको देखेर उक्त पैसा उपभोक्ता (कन्जुमर) लाई क्षतिपूर्तिबापत किन नतिराउने ? भनेका छौं । यो रकमको फिगर करिब अर्बमा छ ।’

प्राधिकरणले पनि एनसेलबाट प्राप्त स्पष्टीकरणको जवाफपछि सोहीअनुसार कारबाहीको तयारी गरेको छ । ‘एनसेलको स्पष्टीकरण हेरेर । सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया