मंगलबार, वैशाख १८, २०८१

गैरसरकारी संस्था : दर्ता धेरै, नवीकरण थोरै

नेपालखोज २०७६ माघ ८ गते १०:००

८ माघ, बाँके । बाँकेमा एक हजार ६२१ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यसवर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या १८५ अर्थात ११ दशमलव ४१ प्रतिशत मात्रै छ । यसले दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले कानून अटेरी गरिरहेको देखाउँछ ।

कानूनबमोजिम सञ्चालन इजाजत लिएपछि गैससले बर्सेनि नवीकरण नगरेर कानून अटेरी गरिरहेका छन् । सरकारी निकायको साझेदार र सहयोगीका रूपमा स्थापित हुने गैरसरकारी संस्थाहरुको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकहरुलाई अधिकार र कर्तव्यको बारेमा बोध गराउने र समाजमा रहेका विभिन्न खाले समस्या समाधानका लागि सहकार्य गर्नु हो ।

सामाजिक कार्य गर्ने विभिन्न उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था दर्ता हुने गर्छन् । धेरै संस्थाहरु विभिन्न अपेक्षा राखेर दर्ता हुने र उद्देश्यअनुसारको कार्य गर्न नसक्ने, बीचैमा संस्था बन्द हुने, नियमित साधारणसभा नगर्ने, नवीकरण नगर्ने समस्या रहेको सहायक प्रजिअ उपाध्यायले बताए ।

आन्तरिक स्रोत, साधनको सदुपयोग गर्ने र स्रोतबिना पनि विभिन्न सामाजिक कार्य गर्नु गैससको कर्तव्य भएको पनि उहाँले बताए ।

प्रतिक्रिया