ओलाको चर्चित इलेक्ट्रिक स्कुटर सार्वजनिक

नयाँदिल्ली । भारतको प्रमुख क्याब सेवा प्रदायक कम्पनी ओलाले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । ओला इलेक्ट्रिक स्कुटरमा अनेकौं नौला विशेषता भएको दाबी गरिएको छ । ओला स्कुटरले (ओला एस-वान) शून्यबाट ४० किलोमिटरसम्मको रफ्तार केवल तीन सेकेन्डमा समात्छ । यो स्कुटरको स्पिड ११५ किलोमिटर प्रतिघण्टा छ भने एकपटकको फुल चार्जमा करिब १५० किलोमिटर कुदाउन सकिन्छ ।
ओलाका सह-संस्थापक तथा सीईओ भाविश अग्रवालका अनुसार ओला एसवान मोडलको मूल्य ९९,९९९ भारु राखिएको छ । ओलाको आईवान प्रोको मूल्य १,२९,९९९ भारु पर्छ । दिल्लीका ग्राहकले ओला एसवान स्कुटरमा सरकारी सब्सिडीको लाभ उठाउन सक्नेछन् । दिल्लीलगायत गुजरात, महाराष्ट्र तथा राजस्थानमा ओला एसवान तथा एसवान प्रोको मूल्यमा १० देखि २० हजार भारु छुट दिइएको छ भने बाँकी राज्यमा कम्पनीको घोषित मूल्य तिर्नुपर्नेछ ।
ओलाको यो इलेक्ट्रिक स्कुटर १० वटा रंगमा उपलब्ध हुनेछ । जसमा नीलो, कालो, सेतो, ग्रे, रातो तथा पहेंलो प्रमुख छन् । ओलाका भारतीय प्रमुख भाविश अग्रवालले दिएको जानकारीअनुसार ओलाले भारतमा संसारकै सबैभन्दा ठूलो टू-ह्विलर म्यान्युफेक्चरिङ कारखाना निर्माण गर्दै छ । ओला स्कुटरको निर्माण तमिलनाडुमा ५०० एकड जमिन ओगटेर बनाइरहेको संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक टू-ह्विलर फ्याक्ट्री ओला फ्युचर फ्याक्ट्रीमा हुनेछ । अग्रवालको दाबी छ- यो स्कुटर बेस्ट डिजाइन र बेस्ट टेक्नोलोजीमा आधारित छ ।
ओला एसवान इलेक्ट्रिक स्कुटर घरको सामान्य सकेट वा प्लगमा ६ घण्टाभित्र चार्ज हुन्छ । ओला फास्ट चार्जर बाट भने एसवान स्कुटरलाई केवल १८ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।
अग्रवालले भारतका ४०० सहर तथा सहरोन्मुख क्षेत्रमा एक लाखभन्दा बढी चार्जिङ स्टेसन स्थापित गर्ने घोषणा पनि गरिसकेका छन् । जसमध्ये पहिलो वर्ष पाँच हजार चार्जिङ प्वाइन्ट स्थापित गरिनेछ । हाललाई बुकिङ खुला गरिएको ओला इलेक्ट्रिक स्कुटरको डेलिभरी कहिलेदेखि सुरु हुनेछ स्पष्ट हुन सकेको छैन ।
यसैगरी आधिकारिक बिक्रेतासमेत सार्वजनिक नभइसकेको नेपालमा कहिलेसम्म यो स्कुटर आइपुग्छ र यहाँ यसको मूल्य कतिसम्म तिर्नुपर्ने हुन्छ अनिश्चित नै छ ।
प्रतिक्रिया