८ हजार बढीलाई निःशुल्क मास्क वितरण

काठमाडौं । नेपाल प्रहरीले एकै दिन ८ हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण गरेको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ हजार १ सय २३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४० हजार ४ सय ८३ जनालाई निःशुल्क मास्क वितरण गरिएको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९२ जनालाई ९ हजार २ सय रुपैयाँ जरिवाना गरिएको छ ।
सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ हजार १ सय २८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ८३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १८ हजार ९ सय ७९ जनालाई सचेत गराइएको छ ।
प्रतिक्रिया