सुलभ मूल्यमा राम्रो माइलेजका कारण मन पराइएको निशान म्याग्नाइट

काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट एसयूभीको (स्पोर्ट युटिलिटी भेइकल) लोकप्रियता बढ्दो छ । कम मूल्य, स्पोर्टी लुक तथा राम्रो माइलेज यो सेग्मेन्टको लोकप्रियताको प्रमुख कारण हो । यो सेग्मेन्टमा अनेकौं कम्पनीका थुप्रै ब्रान्ड उपस्थित छन् । यहाँ प्रतिस्पर्धा पनि उत्तिकै छ । यही लहरमा हालसालै आएको निशान कम्पनीको म्याग्नाइट एसयूभी पनि छ जसले आफ्नो अलग स्थान बनाउँदै लगेको छ ।
निशान म्याग्नाइट गएको वर्ष मात्र अन्तर्राष्ट्रिय बजारमा आएको हो । बजारमा आएलगत्तै यो एसयूभीले राम्रो प्रदर्शन गर्दै आएको छ । निशानको यो गाडीको नेपाली बजार पनि निकै राम्रो छ । भारतीय बजारमा बुकिङ गरे पनि गाडी हात पार्न पालो कुर्नुपर्ने अवस्था भएको बताइन्छ । यो एसयूभी एसियामै राम्रो रेटिङ पाउनेमध्ये एक हो ।
यो गाडी पाँच अलग ट्रिम र दुई पेट्रोल इन्जिनका साथ बाजारमा आएको छ । यसको एउटा भेरियन्टमा १.० लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको छ । जसले ९९ बीएचपी पावर र १६० एनएमको टर्क जेनरेट गर्छ । यो भेरियन्ट ५ स्पिड म्यानुअल ट्रान्समिसनका साथ उपलब्ध हुन्छ । त्यसका अतिरिक्त यो एसयूभी १ लिटर नेचुरल एस्पायर्ड पेट्रोल इन्जिनका साथ पनि खरिद गर्न सकिन्छ जसले ७१ बीएचपी पावर र ९६ एनएमको टर्क जेनरेट गर्छ ।
कम्पनीका अनुसार नयाँ निशान म्याग्नाइटको एक्सभी र एक्सभी (प्रिमियम) भेरियन्टको माग सबैभन्दा बढी छ । निशानले यो एसयूभीमा केही क्लास लिडिङ फिचर दिएको छ । जसले यसलाई अन्य मोडलको कारभन्दा राम्रो बनाएको छ । जस्तो ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, वायरलेस एप्पल कार प्ले, एड्रोइड अटो कनेक्टिभिटी, ७.० इन्चको टीएफटी डिस्प्ले, पुस बटन स्टार्ट, भ्वाइस रिकोग्नाइजेसन टेक्नोलोजी, क्रूज कन्ट्रोल, टायर प्रेसर मनिटरिङ आदि ।
प्रतिक्रिया