मंगलबार, वैशाख १६, २०८२

महाकवि देवकोटाको सालिक तोडफोड

नेपालखोज २०७८ भदौ १४ गते २२:१५

काठमाडौं । भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ ।

आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा आज बिहान भेटिएको उनले बताए ।

भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन् । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे।

प्रतिक्रिया