सोमबार, वैशाख १५, २०८२

‘महँगी बढ्यो, तलब बढेन’

सडकमा खटिने ट्राफिक प्रहरीको गुनासो- महँगी बढ्यो, तलबले खर्चै धान्न मुस्किल भो, दिन्छु भनेको प्रोत्साहन भत्ता पनि दिइएन, कसरी चलाउने परिवार ?

केशव भट्टराई २०७८ भदौ १६ गते ८:३७

काठमाडौं । ‘मेरो नाम उल्लेख नगरी बुझे नेपालभरका ट्राफिक प्रहरी साह्रै खुसी हुने थिए ।’ यो भनाइ ट्राफिक प्रहरीका पूर्वडीएसपीको हो । कडा सरकारी नीति–नियममा बस्नुपर्ने ट्राफिक प्रहरीहरूको सुविधा कटौतीको विरोध बाहिरिनु चानचुने होइन । महँगी बढ्दै गएका बेला आफूहरूले पाउने केही प्रोत्साहन भत्ता पनि कटौती हुँदा आजभोलि सडकमा खटिने ट्राफिक प्रहरीहरू निराश छन् ।

केही समयअघि ती पूर्वडीएसपीले सडकमा खटिने ट्राफिक प्रहरीले पाउँदै आएको प्रोत्साहन भत्ता कटौती हुँदा आफूलाई दुःख लागेको भन्दै सञ्चारमाध्यममा एउटा पत्र लेखे । उनले पत्रमा यो समस्या सयौं ट्राफिक प्रहरीको भएको उल्लेख गरेका छन् । नाम उल्लेख नगरीकन उनले फेरिएको नियम आफूलाई ठीक नलागेको दाबी गरेका छन् ।

उनले एक राष्ट्रिय पत्रिकामा छापिएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सवारीसाधन चलाउँदा नियम उल्लंघन गरेकालाई कारबाही गरेको रकमको केही प्रतिशत ट्रफिक प्रहरीलाई दिइँदै आएकामा अहिले रोकिदिँदा दुःख लागेको उनको गुनासो छ । उनले लेखेको पत्रमा उक्त रकमले साना दर्जाका ट्राफिक प्रहरीलाई केही राहत पुग्दै आएको जनाएका छन् ।

उनले विगतमा हालका अर्थमन्त्री जनार्दन शर्मा गृहमन्त्री हुँदा आफूहरूले पाउने रकम तत्कालीन प्रहरी महानिरीक्षकलाई मन्त्रालयमै बोलाएर रोकिदिएको गुनासो गरेका छन् । एक रोलक्रम रिपोर्टमा प्रहरी प्रमुखलाई उक्त गुनासो गरिएको र पहल गर्ने वाचा गरे पनि अझै प्रतिबद्धता पूरा हुन नसकेको उनको भनाइ छ । ‘सवारीसाधनलाई कारबाही गरेअनुसार पाउने प्रोत्साहन भत्ता ट्राफिक प्रहरीलाई मात्र नदिइएको हो वा अन्यतिर खर्च भइरहेको छ ?,’ उनले यो विषयमा विस्तृत बुझ्न सञ्चारमाध्यमलाई पनि सुझाएका छन् ।

सरकारले सुविधा भने कम दिएर ट्राफिक प्रहरीहरूलाई १५ घण्टा सडकमा खटाएको छ । तीन वर्षपछि बल्ल अहिले दुई हजार रुपैयाँ तलब बढे पनि गत वर्षदेखि खाइपाइ आएको प्रोत्साहन भत्ता पनि कटौती हुँदा उनीहरू निराश भएका हुन् ।

ट्राफिक प्रहरीलाई लगभग १५ घण्टा सडकमै काम गर्नुपर्छ, धुवाँधुलोको प्रवाह छैन । आफन्त, घरपरिवार बिर्सिएर सडकमा सीमित जनशक्तिमा खटिनुपर्ने अवस्था छ । महिला हुन् वा पुरुष सबै ट्राफिक प्रहरीले भोग्नुपर्ने समस्याहरू समान छन् । अहिले काठमाडौंलगायत व्यस्त सडकमा सबैभन्दा बढी खटिने ट्राफिक प्रहरी जवानहरू नै हुन् ।

काठमाडौंको ग्रिन ल्यान्ड चोकमा ड्युटीमै भेटिए ट्राफिक प्रहरी जवान सन्तोष भुजेल । प्रोत्साहन भत्ता कटौती गरेकोमा उनलाई पनि दुःख लागेको छ । उनी गुनासो गर्छन्, ‘बरु पहिले नै नदिने नियम बनाएको भए हुन्थ्यो, अहिले आएर बन्द गरिनु राम्रो भएन ।’ अघिल्लो सरकारले ट्राफिक प्रहरीहरूका लागि खाइपाइ आएको रासनको रकममा १५ प्रतिशत बढाउने निर्णय गरेको थियो । तर अहिलेको सरकारले त्यो खारेज गर्ने निर्णय गरिदिँदा आफू थप निराश भएको भुजेल गुनासो गर्छन् । उनी भन्छन्, ‘माथिल्लो निकायले पहल गरेर प्रोत्साहन भत्ता दिलाई दिए आफूलाई राहत हुने थियो ।’

महामारी बढेका बेला ज्यान जोखिममा राखेर काम गरेका जवानहरूलाई जोखिम भत्ता नदिएको पनि उनको गुनासो छ । ‘स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइँदा आफूहरूलाई पनि दिएको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन् । रातदिन खटिँदा २० हजार रुपैयाँ मासिक तलब पाउँदै आएका ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि भने २२ हजार ६ सय ४० पाउँदै छन् । उक्त तलबमा प्रोत्साहन भत्ता १० हजार थपिँदा घरपरिवार दुःखसुखले चल्ने थियो भन्ने उनीहरूको भनाइ छ ।

यस्तै सडकमा खटिएका अर्का प्रहरी जवान प्रोत्साहन भत्ता काटेपछि तलबले मात्रै खर्च धान्नै मुस्किल परेको गुनासो गर्छन् । ‘अहिले महँगी धेरै बढेको छ, तर तलब बढेको छैन, कम्तीमा सरकारले दिने प्रोत्साहन भत्ताले केही राहत मिलेको थियो,’ महाराजगन्ज चोकमा ड्युटीमा रहेका एक ट्राफिक प्रहरी जवान नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘त्यो पनि गत वर्षदेखि काटियो ।’ उनले आफूहरूले पाउँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिन माग गरेका छन् ।

यता सिंहदरबार–रामशाह पथमा खटिएका ट्राफिक जवान सागर विष्ट पनि आफूहरूलाई परेको पीडा सञ्चारकर्मीमाझ पोख्न पछि परेनन् । उनले उपत्यकाका सडकमा सिट्टी हातमा लिएर काम गर्न थालेको १० वर्ष भयो । २० हजार ६ सयबाट अहिले बल्ल साढे २२ हजार तलब पुगेको छ । काठमाडौंको बसाइ अनि थोरै तलबको सरकारी जागिर । आफूलाई मात्रै पुग्ने तलबले घरखर्च धान्नै मुस्किल भएको उनी बताउँछन् । ‘थोरै तलबमा भए पनि काम गर्नुपर्ने बाध्यता छ,’ उनले नेपालखोजसँग भने ।

तर एक वर्षअघि प्रोत्साहन भत्ता खोसेपछि भने तलबले ट्राफिक प्रहरीको एक्लो जीवनलाई मात्रै पुग्ने भएको छ । परिवारमा तलबले भरथेग नहुने अवस्था छ । गत वर्ष तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ट्राफिक प्रहरीलाई दिँदै आएको प्रोत्साहन भत्ता महामारी अवधिभर कटौती गर्ने निर्णय गरे पनि त्यो अझै फुकुवा भएको छैन । डेढ वर्षदेखि भत्ता कटौती हुँदा तल्लो दर्जाका धेरै प्रहरी जवानहरूले आफू मारमा परेको गुनासो गरेका छन् ।

ट्राफिक प्रहरीले कोरोनाको पहिलो लहरअघि सडकमा सवारी नियम उल्लंघन गरेबापत जम्मा भएको राजस्व रकमको ४० प्रतिशत प्रोत्साहन भत्ता पाउने गर्थे । तर, बजेट अभाव हुने कारण देखाउँदै पहिलो कोरोना लहरका बेला अर्थ मन्त्रालयले खाइपाई आएको सुविधा कटौती गरेपछि ट्राफिक प्रहरी निराश भएका हुन् ।

एक वर्ष अघिसम्म सवारी नियम उल्लंघन गर्नेसँग जरिवाना स्वरूप लिइएको रकम ट्राफिक प्रहरी कार्यालयले यातायात कार्यालयको खातामा जम्मा गरिदिने गरेको थियो । बचत गरेको ४० प्रतिशत रकम प्रहरी जवान, हवल्दार, असई र सईलाई बाँडिने गरेको थियो ।

यता प्रोत्साहन भत्ता खोसिएको सम्बन्धमा प्रतिक्रिया लिँदा उक्त विषयमा बोल्नु आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको विषय भएको ट्राफिक प्रहरी प्रमुखहरू प्रतिक्रिया दिन्छन् । उनीहरू यो विषय अर्थ र गृह मन्त्रालयसँग सरोकार राख्ने भएकाले आफूले बोल्नसमेत नमिल्ने बताउँछन् ।

वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख शान्तिराज कोइराला प्रोत्साहन भत्ताको कुरो सरकारको नीतिको विषय भएको प्रतिक्रिया दिन्छन् । उनी तल्लो तहका प्रहरी जवानहरूले प्रोत्साहन भत्ता निरन्तर रूपमा पाउन खोज्नु जायज विषय भएको जनाउँछन् । भत्तालाई निरन्तरता दिइए आफ्नो मनोबल उच्च हुने भन्ने प्रहरी जवानहरूको भनाइप्रति उनी सहमत छन् । तर कटौती गरेको भत्ता पुनः प्रदान गर्ने विषय आफ्नो जिम्मेवारीभन्दा बाहिरको भएको उनको प्रतिक्रिया छ ।

देशभर तीन हजार आठ सय ३७ ट्राफिक प्रहरी कार्यरत छन् । उपत्यकाभित्र मात्रै एक हजार पाँच सय चार ट्राफिक प्रहरी छन् । उनीहरूलाई सीमित जनशक्ति हुँदा दोहोरो झैं ड्युटी गर्नुपर्ने बाध्यता छ । चौबीस घण्टामा १५ घण्टासम्म सडकमा उभिएर आफ्नो कतव्र्यको पालना गर्ने ट्राफिक प्रहरी जवानको प्रोत्साहन भत्ता खोसिनु साँच्चै नराम्रो पक्ष हो । यसर्थ, उनीहरूलाई पुनः प्रोत्साहन भत्ताको व्यवस्था गरिए, महँगीको समयमा केही हदसम्म भए पनि परिवारको गर्जो टर्न सक्छ । गृह मन्त्रालय र अर्थ मन्त्रालयको बैठक शीघ्र बसेर निर्णय गर्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया