गरिब देशलाई सवा अर्ब डोज भ्याक्सिन !
गरिब देशमा कोभिडविरुद्धको भ्याक्सिनेसनलाई गति दिन जापान र पश्चिमी देशले तत्काल लगभग ५० करोड डोज खोप उपलब्ध गराउने ।

काठमाडौं । कोरोना भाइरसले पूरा संसारलाई आफ्नो चपेटामा लिएको छ । अहिले पनि विभिन्न देशमा दैनिक लाखौं नयाँ संक्रमित फेला परिरहेका छन । यद्यपि संसारभर तीव्र गतिमा भइरहेको भ्याक्सिनेसनका कारण यो महामारीको दौडमा केही ब्रेक लागेको छ । विश्व स्वास्थ संगठनले कोरोना भगाउने एकमात्र उपलब्ध उपाय खोप भएको कुरा बताउँदै संसारभर चाँडोभन्दा चाँडो सबैको पहुँचमा खोप पुर्याउने अभियान चलाउन अपिल गर्दै आएको छ ।
२०२१ को अन्त्यसम्म एक अर्ब २० करोड खोप दानमा
गरिब देशमा छिटोभन्दा छिटो भ्याक्सिन पुर्याउन जापान तथा पश्चिमी देशले लगभग ५० करोड डोज कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन लागेका छन् । यो अभियानअन्तर्गत सन् २०२१ को अन्त्यसम्म एक अर्ब २० करोड डोज भ्याक्सिन गरिब देशहरुमा पठाइने योजना छ ।
गरिब देशले झेलिरहेछन् भ्याक्सिनको अभाव
यो सहयोगले गरिब देशहरुमा कोभिडविरुद्धको भ्याक्सिनको कमीलाई कम गर्न सक्छ । अक्सफोर्ड युनिभर्सिटीको तथ्यांकअनुसार २ सेप्टेम्बरसम्म कम आय भएका देशका १.८ प्रतिशत मानिसले मात्र कोरोनाविरुद्धको भ्याक्सिन पाएका थिए । धनी मुलुकका ६४ प्रतिशतजति मानिसले भ्याक्सिन पाइसकेका छन् ।
भनिन्छ अहिले संसार भ्याक्सिनको उपलब्धता र उत्पादनको दृष्टिले एउटा महत्त्वपूर्ण विन्दुमा पुगिसकेको छ । धनी पश्चिमा देशका लागि अब आपूर्ति होइन माग चुनौतीका रुपमा खडा भएको छ । अहिले संसारभर कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन सफलतापूर्वक अघि बढिरहेको छ । त्यसैले धनी देशले भ्याक्सिनको स्टक गर्ने होइन कि यसको समानुपातिक वितरणमा ध्यान दिन सक्नुपर्छ ।
यदि विश्व स्वास्थ संगठनले चीनमा निर्मित सबै भ्याक्सिनलाई स्वीकृति दिने हो भने सन् २०२१ को अन्त्य सम्ममा एक अर्ब ६० करोड भ्याक्सिन दानमा उपलब्ध हुनसक्छ । यति भ्याक्सिनले अफ्रिकाको उप-सहारा क्षेत्रका ७० प्रतिशत मानिसको आवश्यकता पूरा गर्छ । जहाँ अहिलेसम्म ३ प्रतिशतभन्दा पनि कम मानिसले कोभिडको खोप पाएका छन् ।
जी-सेभेन र ईयूका देशहरुले जुन २०२२ सम्म एक अर्ब डोज कोभिडविरुद्धको भ्याक्सिन दान दिने वाचा गरेका छन् । रिपोर्टअनुसार संसारको पूरै जनसंख्यालाई खोप लगाउन सवा ११ अर्बभन्दा बढी खोपको आवश्यकता पर्छ । गएको महिनासम्ममा ६ अर्ब डोज भ्यासिन उत्पादन भइसकेको बताइन्छ ।
प्रतिक्रिया