ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा काष्ठमण्डपको छानो छाउन सुरु

काठमाडाैं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो ।
सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे । समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेस गर्न सक्षम हुने दाबीसमेत गरेको छ ।
समितिका अध्यक्ष शाक्यले भने, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भइरहेको छ । यो काम अव अन्तिमतिर आइरहेको छ । अब हामीले झिंगटी छाउने काम गरिरहेका छौं ।
अब यो काम सम्पन्न गर्न अझै केही महिना लाग्छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर यसको पुनर्निर्माण हुन्छ । काष्ठमण्डप आफैंमा काठमाडौंको ठूलो मौलिक सम्पदा हो ।
सातौं शताब्दीमा बनेको काष्ठमण्डप यसको मौलिकतालाई बचाएर पुनर्निर्माण गर्नु ठूलो उपलब्धि हो । यो सम्पदा पूरानै प्रविधिबाट निर्माण गर्नु विश्वकै लागि नमूना हो ।’
हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैया खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भईरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।
काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप ।
समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । करिव १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।
प्रतिक्रिया