हरितालिका तीज समापन

काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार (हिजाे) देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका बर्तालुले आज (शुक्रबार) बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।
सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका बर्तालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाका दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ ।
बुधबार राति दर खाएपछि औपचारिकरूपमा सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । आज हरितालिकाको व्रत समापनसँगै भक्तजनले गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाउँछन् । सत्ययुगमा आजका दिन भगवान् शिव र पार्वतीका पुत्रका रुपमा गणेश भगवानकाे जन्म भएको विश्वास गरिन्छ ।-रासस
प्रतिक्रिया