‘भाडा नतिर्नेका हजार दाउ…’
विगतकोे दुःख सम्झिएर भक्कानिँदै विमला भन्छिन्, ‘कस्तो दिन आयो, कसरी दिन बिताउने होला भन्ने मात्रै चिन्ता भइरहन्थ्यो । दुःखको पहाडले थिचिँदा सबैलाई मारेर आफू पनि मरौं भन्ने नआएको पनि कहाँ हो र ? मनले मानेन । छोराछोरी झल्झली सम्झिएँ ।’

काठमाडौं । रामेछापको सानोदेउराली घर भएकी विमला श्रेष्ठले काठमाडौंको सडकमा टेम्पो चलाउन थालेको ११ वर्ष भयो । रहरले होइन बाध्यताले टेम्पो चलाउनुपरेको उनको भनाइ छ । टेम्पो चलाउनुपर्ने बाध्यता भएका विगतका दिन सम्झिँदा बारम्बार उनी भक्कानिन्छिन् । विमला भन्छिन्, ‘मलाई गाडी लाइनतिर केही थाह थिएन, दुःखै पाएर, भाग्यमै यस्तै लेखेर हो कि यो पेसा अँगालेकी हुँ ।’
१२ वर्षअघि ट्याम्पो चलाउने निधो गरेकी थिइन् विमलाले । बिहान ३ बजेदेखि करिबपछि अढाइ घण्टा हिँडेपछि उनी चालकको तालिम सिक्ने ठाउँमा पुग्थिन् । त्यो दिनका दुःखपीडा सम्झिँदा मन भक्कानिएर आउँछ । काठमाडौंको महँगीमा कोठाभाडा तिर्नुपर्ने र छाक टानुपर्ने अवस्था थियो । श्रीमान्को ज्यान चल्नै सक्दैन थियो । स–साना पाँच छोराछोरी थिए । उनले निकैं नैं संघर्ष गर्नुपर्यो । घर जाउँ त जग्गाको सानो टुक्रो मात्रै छ । सहरमा बसुँ त महँगीमा जीवन गुजार्नै गाह्रो छ ।
कामै गरे पनि खान पुग्दैन थियो । तर पनि संघर्ष गर्दै उनले अभाव र दुःख पार लगाउँदै गइन् । कहिले आलु गोदाममा आलु केलाउने काम गरिन् त कहिले सानातिना काम पनि गरिन् । श्रीमान् चन्द्रबहादुर श्रेष्ठले ट्याक्सी चलाएर अलिअलि पैसो जम्मा गरेका थिए । उनले गरेको बचतमा केही रकम थपेर ट्याक्सी किनेका थिए । चन्द्रबहादुरको शरीर चल्दैनथ्यो । ट्याक्सी चालकले अलिअलि पैसो ल्याएर दिन्थे । तर बिरामी र बालबच्चाका लागि त्यसले गर्जो टर्दै–टर्दैनथ्यो ।
गाउँबाट आएर भर्खरै काठमाडौं बसेकी विमलालाई सहयोग गर्ने आफन्त तथा इष्टमित्र कोही पनि भएनन् । सुरुका दिनमा जसोतसो उनले श्रीमान् र छोराछोरीको श्वास अल्झाएर राख्न सकिन् । विगतकोे दुःख सम्झिएर भक्कानिँदै विमला भन्छिन्, ‘कस्तो दिन आयो, कसरी दिन बिताउने होला भन्ने मात्रै चिन्ता भइरहन्थ्यो । धेरै दुःख हुँदा सबैलाई मारेर आफू पनि मरौं भन्ने पापी सोच आयो । त्यसो गर्न पनि मनले मान्दै मानेन । छोराछोरी झल्झली सम्झिएँ ।’
विमलाका देवर–जेठाजु आठजना थिए । आठ भाइलाई भाग लगाउँदा सानो जग्गाको टुक्रो मात्रै अंशमा पर्यो । कमजोर आर्थिक अवस्थाका कारण चन्द्रबहादुर केही काम गरेर जीविकोपार्जन गर्न काठमाडौं हानिए । सुरुमा अर्काको ट्याक्सी चलाए । केही वर्षपछि आफैं किनेर चलाउन सुरु गरे । तर, ‘दशा बाजा बजाएर आउँदैन’ भनेजस्तै चन्द्रबहादुरको कथा–व्यथा छ ।
घटना १४ वर्षअघिको हो । बारीमा दुईवटा गोरु जोडसँग जुधेछन् । छुट्याउनुपर्ने अवस्था आयो । गोरु छुट्याउन जोडले ठूलै लाठी प्रहार गरे । चन्द्रबहादुरको ढाडको नसा नै च्यातिएछ । उक्त घटना भएपछि उनी काठमाडौं आए । ट्याक्सी चलाउन सुरु गरे । ट्याक्सी चलाएको कमाइले घरपरिवारको गर्जो पनि रामै्रसँग चल्ने गरी कमाइ हुँदै थियो । काठमाडौंमा रहँदा सुरुका दिनमा पाँचजना छोराछोरीसहित विमला पूर्ण रूपमा श्रीमान् चन्द्रबहादुरसँगै निर्भर थिइन् । तर गोरुलाई लाठी प्रहार गर्दा च्यातिएको चन्द्रबहादुरको ढाडको नसामा समस्या बढ्दै गयो । शरीर चल्नै नसक्ने भयो । विमलालाई ठूलो वज्रपात पर्यो ।
१४ वर्षअघिको उक्त घटना विमला अहिले सम्झिन पनि सक्दिनन् । भक्कानिँदै भन्छिन्, ‘पहिले श्रीमान्को भरमा थिएँ । साना–साना पाँच छोराछोरी पनि उहाँकै भरमा थिए । अहिले उल्टो भएको छ । म गाडी चलाउँछु, श्रीमान् र छोराछोरी घरमा हुन्छन् । श्रीमान् भने अझै पनि केही गर्न सक्नुहुन्न ।’
विमला आजभोलि काठमाडौंको रत्नपार्क, कालीमाटी हुँदै सीतापाइला रुटमा ट्याम्पो चलाउँछिन् । १२ वर्षअघि १५ किलोमिटरको बाटो बिहान अँध्यारैमा हिँडेर तालिम लिँदाको दुःख विमलाको जीवनमा नबिर्सिने भोगाइ हो । उनी दुःखपीडासँगै तालिम लिने स्थलसम्म पुग्थिन् । राति ३ घण्टाको बाटो हिँड्न डरमर्दो भए पनि उनले ट्याम्पो चलाएरै छाड्ने अठोट लिएकी थिइन् । किनकि उनले श्रीमान् र साना पाँच छोराछोरीको ज्यान बचाउनु थियो ।
केही वर्ष उनले थोरै पारिश्रमिकमा टेम्पो ड्राइभरको काम गरिन् । अहिले भने ऋणपान गरेर किनेको आफ्नै ट्याम्पो चलाउँछिन् । यही पेसाबाट उनले छोराछोरी र श्रीमान्को लालनपालन गर्दै छिन् । छोराछोरीले कलेजमा राम्रै विषय लिएर पढेका छन् । अहिले विमलाको घरायसी अवस्था सहज भएको छ । हुर्किएका छोराछोरीले घरको काममा पनि सहयोग गर्छन् । तर, श्रीमानको स्वास्थ्य अवस्था भने कमजोरै छ । श्रीमान् चन्द्रबहादुरको नसाको समस्या समाधान हुन्छ कि भनेर थेरापी पनि गराउने गर्छिन् । थेरापीमा हजारौं रुपैयाँ खर्च गरिसकेकी छिन् ।
टेम्पो चालकको ११ वर्षे अनुभवमा विमला स्टेरिङ र सडकसँग भिजिसकेकी छन् । १२ वर्षदेखि आँसुसँगै विभिन्न चुनौती पार गर्दै आएकी उनी आजभोलि समस्याहरूसँग मज्जाले पौंठेजोरी खेल्न सकिन्छन्, डराउँदिनन् ।
विमला टेम्पो चालक पेसाको सुरुवात गर्ने श्रेय भने ससुरालाई दिन्छिन् । उनका ससुराले काठमाडौंमा टेम्पो चढेका बेला ‘तिमीले पनि यस्तै ट्याम्पो चलाए राम्रो हुन्छ’ भन्ने सल्लाह दिएका थिए । श्रीमान् ओछ्यान परेपछि विमलाले ससुराको त्यो सल्लाहलाई आशीर्वादका रूपमा लिइन् । आम्दानी जुटाउन ट्याम्पो चलाउनुबाहेक उनीसँग विकल्प थिएन । पारिवारिक आर्थिक संकट हटाउन टेम्पो चलाउने अठोट गरिन् ।
घरमैं सीमित हुँदा पनि घरेलु हिंसामा पर्नु नेपाली महिलाको तीतो यथार्थ हो । घरबाहिर काम गर्दा पनि विभिन्न समस्याहरू भोग्नुपर्छ । अझ टेम्पो चालक महिलाका त यस्ता अनुभवहरू बर्गेल्ती हुन्छन् । विमलाले सडकमा गाडी हाँक्दा बेलाबेला विभिन्न समस्याहरू झेल्नुपरेको छ । महिला भएकै कारण हेपेर यात्रुले भाडा नदिएको भोगाइ उनीसँग छ । विमला भन्छिन्, ‘भाडामा ठग्नेहरूको हरेक दाउ हुन्छ, हजार रुपैयाँको नोट देखाउँछन्, आफूसँग खुद्रा हुँदैन ।’ भाडा दिन नखोज्ने यस्ता यात्रीबाट आफू वाक्कदिक्क भएको उनको तीतो अनुभव छ । उनी गुनासो गर्छिन्, ‘यस्ता यात्रु त धेरै छन्, हजारको नोट देखाएर भाडा दिनै खोज्दैनन् । हामीसँग थोरै खुद्रा मात्र हुन्छ, साट्यो भने समस्या हुन्छ ।’
अर्कातिर सडक व्यवस्थापनमा खटिएकै ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरेको महिला टेम्पो चालकहरूको अनुभव छ । ट्राफिक प्रहरीले चिट काट्ने ठाउँमै यात्रु जबर्जस्ती हामफाल्दै उत्रिने र त्यहीँ ट्राफिक प्रहरीले चिट काट्ने गरेको उनको तीतो अनुभव छ । स्लो गर्ने अवस्था आउँदा पनि किन रोकेको भन्दै चिट काट्ने परिपाटी उनलाई ठीक लाग्दैन । उनी भन्छिन्, ‘ट्राफिक प्रहरीले ओई भनेर हप्काउँदै तँ तँ म म गर्ने गरेको छ । आफ्नो श्रीमान्ले पनि अहिलेको समयमा तँ भन्दैनन् । उनीहरू त मुखै छोडेर गाली गर्छन् ।’
ट्राफिकले झापड हानेपछि…
ट्राफिक प्रहरीले हकार्दै ‘तँ तँ म म’को व्यवहार दैनिकजसो देखाउने विमलासँगै अन्य महिला चालकको भोगाइ छ । एकजना ट्राफिक प्रहरीले आफूलाई झ्याम्म झापड हानेको बताउँछिन् । उनले यो घटना महिलामाथिकै ठूलो अपमान भएको सुनाइन् । ‘ट्याम्पोबाट उत्रिनुपर्ने अवस्था भएको बेला झ्याम्म कुममा झापड हान्दा म तर्सिएँ,’ उनी भन्छिन्, ‘फर्किएर हेर्दा त ट्राफिक रहेछन् । किन हानेको भन्दा अझ के भयो भन्छेस् भन्दै हकार्यो ।’ यो घटना विमलाको मनमा कहिल्यै नबिर्सिने घाउ बनेको छ । टेम्पो चलाउनै पर्ने बाध्यताले उक्त घटनाको उजुरीसम्म गर्न नसकेको उनको अनुभव छ । विमला जस्तै बेलाबेला ट्राफिक प्रहरीको झापड र गाली भोग्नुपर्ने तीतो अनुभव धेरै महिला चालकहरूसँग छ ।
यस्तै महिला चालकको अर्को समस्या समाजले हेर्ने दृष्टिकोण हो । आफूसँगैको सिटमा पुरुष वा महिला यात्रु, जो सुकैलाई राख्नुपर्छ नै । तर पुरुष यात्रु भए कसलाई बोकेर हिँडी भनेर कुरा काट्नेहरू समाजमा थुप्रै भएको उनको गुनासो छ । विमलालाई बिरामी श्रीमान् रुँगेर नबस् भनेर सल्लाह दिनेहरू पनि धेरै भए । तर उनले बेतुकको सल्लाह भन्दै त्यसको कुनै पर्वाह नै गरिनन् । श्रीमान् र छोराछोरीप्रतिको कर्तव्य भुल्नु ‘महापाप’ ठानेर आफ्नो कर्मलाई निरन्तरता दिई रहिन् ।
वास्तवमा अधिकांश टेम्पो चालक महिलाका केही न केही समस्याहरू हुन्छन् नै । अधिकांश महिला रहरले नभई कमजोर आर्थिक अवस्थाको कारण टेम्पो चालक बनेको देखिन्छ । ठूला सवारीसाधनको हेपाइ टेम्पो चालक महिलालाई मन नपर्ने अर्को पक्ष हो । यस्तै बेलाबेलाको बन्दले पनि आफूहरूको रोजीरोटीमा असर परेको विमलालगायत धेरै चालकहरूको अनुभव छ । एक वर्षसम्म लकडाउनको प्रभाव पर्दा टेम्पो चलाउनेहरूलाई खर्च धान्न निकै समस्या भएको थियो ।
टेम्पो चालकका तीता अनुभवहरूमा ट्राफिक प्रहरीबाट हुने हैरानी पनि मुख्य हो । पुरुष र महिला टेम्पो चालकका अधिकांश समस्या समान भए पनि महिला चालकका समस्याहरू भने केही फरक छन् । लामो समयसम्म बस्दा ढाड दुख्ने, सानो पेट दुख्नेलगायत समस्या उनीहरूले भोग्नुपर्छ ।
विमला भन्छिन्, ‘पहिले पिक एन्ड ड्रप सिस्टम नहुँदा हामीलाई सजिलो थियो । पहिले एक ठाउँमा गाडी रोक्न पाउँदा दिसापिसाब गर्न पाइन्थ्यो, एकछिन् आरामले पनि बस्न पाइन्थ्यो । तर अहिले दिसापिसाब पनि गर्न नपाउने अवस्था छ ।’ कुन बेला प्रहरीले चिट काटेर सजाय गर्ने हो भन्दै डराउँदै टेम्पो चलाउनुपर्ने अवस्था भएको विमलाको गुनासो छ । उनी भन्छिन्, ‘मान्छेबाट सानोतिनो गल्ती त भइहाल्छ । तर कुनै बेला सानो गल्तीमै आवेशमा आएर हजार रुपैयाँको चिट काटिने गरिन्छ ।’
टेम्पो चलाएर आफ्नो पारिवारिक जीवनमा आमूल परिवर्तन ल्याउने एक उदाहरणीय महिला हुन् विमला । उनीजस्तै बाध्यताले टेम्पो चलाएर जीवनवृत्ति गर्ने नारी आजभोलि धेरै छन् । अझै पनि पुरुषभन्दा फरक व्यवसाय गर्ने महिलालाई नपचाउने हाम्रो समाज छ । पुरुषले नै टेम्पो चलाएको राम्रो भन्ने समाजका मान्छेलाई चुनौती दिँदै आर्थिक अवस्था सुधार गरेर देखाएको विमलाकै आवाजबाट प्रस्ट हुन्छ । विभिन्न अप्ठ्यारासँग जुधेर परिवारमा सफल अभिभावकीय भूमिका निर्वाह गर्ने विमला यथार्थमै एक उदाहरणीय महिला पात्र हुन् ।
क्यामेरामा रुपेश चौलागाईंका साथमा केशव भट्टराईको भिडियो रिपोर्ट…
प्रतिक्रिया