नाकाबन्दीको इख, विकासमा कतारको छलाङ !

काठमाडौं । कतारको विकासमा त्यहाँका शासकहरूले खेल्ने भूमिका महत्त्वपूर्ण छ । शासनमा रहेकाहरूले विकासको रणनीति बनाएर कार्यान्वयनमा उतारेका छन् । कतारका शासकमा पनि दुबईको जस्तै दूरदर्शी नेतृत्व छ । शासक सेख हामद बिन खालिफा अल थानीको अगुवाइमा सन् २०११ देखि १६ सम्म कतारमा पहिलो राष्ट्रिय विकासको रणनीति तयार गरिएको थियो । यो रणनीति कतार नेसनल भिजन २०३० का लक्ष्यहरू प्राप्त गर्न तयार गरिएको थियो । कतारका शासकले भित्री मनदेखि उक्त विकासको रणनीतिले तयार गरेका लक्ष्यहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्रोत मात्रै भएर पनि मुलुकको विकास हुन सक्दैन । कतार मुलुक स्रोतको साथै नेतृत्ववर्गको विकासप्रतिको प्रतिबद्धताका कारण सफल भएको अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेल दाबी गर्छन् । नेपालमा स्रोत–साधनको अभावभन्दा पनि नेतृत्व तहमा व्यवस्थापनको अभाव देखिएको उनको ठहर छ । कतारको विकासको आधार भनेकै एउटा नेचुरल ग्यास हो र अर्को कच्चा पेट्रोलियम पदार्थ हो । नेचुरल ग्यास उत्पादन गर्ने मुलुकमा कतार तेस्रो मुलुकमा पर्छ । नेचुरल ग्यास निर्यात गर्नेमा पनि कतार विश्वको दोस्रो मुलुक हो । नेचुरल ग्यास र पेट्रोलियम पदार्थका कारणले गर्दा यस देशलाई पैसाको अभावै हुँदैन । यिनीहरूको कुल गार्हस्थ उत्पादन नै झन्डै एक सय ७६ अर्ब डलर छ । नेपालको लगभग ३२ देखि ३५ अर्ब डलर मात्रै छ । धेरै सम्पन्न मुलुकको अवस्था कतारको कुलगार्हस्थ उत्पादनले देखाएको प्याकुरेलको दाबी छ ।
वास्तवमा नेतृत्ववर्गले सबै कतारी जनताको समृद्धिका लागि विकासको काम पनि सोहीअनुसार अगाडि बढाइरहेका छन् । कतारका शासकहरूको मिसन सन्तुलित र दिगो रूपमा आर्थिक वृद्धि गर्नु हो । कतारले सन्तुलित र दिगो विकासका लागि जिम्मेवार किसिमले विभिन्न स्रोतको प्रयोग गरेको छ । राम्रो किसिमको कार्यक्रमको व्यवस्थापनका लागि सार्वजनिक संस्थानहरूको आधुनिकीकरण गर्ने र विकास गर्ने काम गरेको छ । विश्व अर्थतन्त्रमा प्रतिस्पर्धात्मक स्तर प्रदर्शन गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी भूमिका खेल्ने कतार सरकारको रणनीति पत्रमै उल्लेख छ ।
कतार सरकारले सन् १९७० देखि अहिलेसम्म सहरी विकासका कामलाई दिगो तरिकाले सञ्चालन गरेकाले महत्त्वपूर्ण प्रगति हासिल भएको छ । पछिल्लो समयमा उत्साहप्रद रूपमा विकासको काम गरिरहेको छ । यो मुलुक विश्वकप २०२२ को आयोजक राष्ट्र पनि हो । २२औं विश्वकप आयोजना हुने भएकाले बाँकी पूर्वाधार विकासका कामहरू अहिले धमाधम भइरहेका छन् । पूर्वाधारको विकासमा ध्यान दिएकाले नेपाल, भारत, बंगलादेशलगायत देशका युवाहरूले पनि रोजगारको अवसर पाएका छन् । मध्यपूर्वी देशमा कतारले आफ्नो प्रभाव जमाउने प्रयासलाई जारी राखेको छ । कतारले छोटो अवधिमा गरेको तीव्र विकासले यसको अन्तर्राष्ट्रिय छवि पनि बढ्दै गएको छ ।
अरब महासागरको छेउमा रहेको प्रायद्वीप मुलुक कतार आर्थिक महाशक्तिका रूपमा उदाउँदै गरेको देश हो । यो मुलुक बाह्य देशका धेरै युवाहरूको आकर्षक रोजगारको थलो मात्रै होइन, चमत्कारपूर्ण विकास गर्ने देशको रूपमा पनि चिनिन्छ । यस मुलुकले विकासको कामहरू गर्दा जनतासँग सहकार्य गर्दै सल्लाह पनि लिने गरेको छ ।
यो मुलकले आफ्नो देशको विकास गर्नका लागि अन्य देशसँग आर्थिक सहकार्यको हात अघि बढाएको छ । अर्बौं रुपैयाँ ऋण लिन पछि परेको छैन । तर ऋणको प्रभावकारी रूपमा उपयोग गरेको छ । तर नेपालले ऋण लिएअनुसार थेग्न सक्ने आम्दानी गर्न नसकेको बताउँछन् प्याकुरेल । कतारमा कुल गार्हस्थ उत्पादनको ५९ प्रतिशत सार्वजनिक ऋण भए पनि उच्च आम्दानी र खर्चचाहिँ आम्दानीभन्दा धेरै कम देखिएको अर्थविद् प्याकुरेलको ठहर छ । कतारले ९५ अर्ब डलरको आम्दानीमा ५६ अर्ब डलर खर्च गरेको तथ्यांकले बचत आम्दानी उत्कृष्ट रहेको देखिएको पनि उनले बताए । नेपालमा निर्यातबाट हुने आम्दानीको तुलनामा आयात गर्दाको लागत बढी हुँदा नेपालले ब्यापार घाटा बेहोरेको छ । कतारले ७३ मिलियन डलर निर्यात गर्दा २९ मिलियन डलर आयात गर्ने गर्छ, जसका कारण पनि कतारको व्यापारघाटा कम देखिएको हो ।
कतारले विकासका काम अघि बढाउने क्रममा विभिन्न चुनौती सामना गर्नुपरेको छ । सन् २०१७ मा चारवटा उसका छिमेकी देशले कतारमाथि आर्थिक तथा कूटनीतिक प्रतिबन्ध लगाएका थिए । कतारमाथि नाकाबन्दी लगाउने राष्ट्रमा साउदी अरब, बहराइन, मिश्र र संयुक्त अरब इमिरेट्स छन् । आतंकवादी पालेको आरोप लगाउँदै उनीहरूले विभिन्न १३ माग राख्दै प्रतिबन्ध लगाएका थिए । प्रमुख मागमा इरानसँग आर्थिक सहयोग नलिने, आतंकवादी पाल्ने काम बन्द गर्नुपर्ने, अलजजिरा च्यानलको बन्द गर्नुपर्नेलगायत थिए ।
कतारले सबै माग पूरा गर्न इन्कार गरेपछि कतारविरुद्ध चार देशले साढे तीन वर्षसम्म नाकाबन्दी गरेका गरे । साढे तीन वर्षसम्म चरम नाकाबन्दीको समस्या भागेको कतारको अर्थतन्त्र बिग्रिन्छ कि भन्ने डर थियो । अलिकति पनि मनोबल घटाएन । भित्रभित्रै कतारले घरेलु उद्योगहरूको विकास गर्दै गयो । सम्पन्न मुलुकसँग राम्रो सम्बन्धको कारणले नाकाबन्दीका कारण आर्थिक अवस्था नबिग्रिएको अर्थविद् डा. प्याकुरेलको विश्लेषण छ । कतार मुलुकको ऋण कुल गार्हस्थ उत्पादनको झन्डै ५९ प्रतिशत छ भने नेपालमा भने ४०.५ प्रतिशत छ ।
कतार देशको प्रारम्भिक अर्थव्यवस्था माछा मार्ने, समुद्रका मोती संकलन गर्ने र सानोतिनो व्यापारिक क्रियाकलापमा आधारित थियो । यस मुलुकमा सन् १९४० मा तेलको उत्खनन् र व्यापारको सुरुवात भए पनि सन् १९५० सम्म आशालाग्दो आर्थिक वृद्धि हुन सकेको थिएन । सन् १९६० देखि १९७० को बीचमा भने तेल आयात उच्च भयो । उच्च तेल आयातबाट उच्च राजस्व संकलन गर्दा कतारको आर्थिक विकासले आश्चर्यजनक रूपमा फड्को मार्यो । उच्च आर्थिक वृद्धिसँगै ठूलो मात्रामा पूर्वाधारको विकास पनि भयो ।
कतार मुलुकले आजभोलि खुला अर्थ व्यवस्थामा जोड दिँदै छ । राज्यका विभिन्न ठाउँमा सहरीकरणको विकास पनि तीव्र रूपमा हुँदै गएको छ । सहरीकरणसँगै वातावरणीय क्षेत्रको विकास पनि आश्चर्यजनक रूपमा भएको छ । यो मुलुकको पर्याप्त मात्रामा कार्बन स्रोतको महत्त्वपूर्ण प्रभाव सामाजिक र सांस्कृतिक ढाँचामा परिवर्तन हो । वातावरणीय महत्त्वलाई ध्यान दिँदै विकास गर्ने उद्देश्य अनुरूप कतारमा सन् १९७० देखि सहरी योजना लागु गरियो । सहरी योजनामा दोहा सहरलाई आधुनिकीकरण गर्ने विकासको ढाँचा समेटिएको छ । यस मुलुकले तेल निर्यात गर्दा प्राप्त गरेको रकम आधुनिक विकासको ढाँचाअनुसार सहरका मुख्य योजनामा लगानी गरेको छ ।
सुरुका दिनमा कतारले आफ्ना देशका जनतालाई गाँसबास उपलब्ध गराउन घरेलु उत्पादनमा जोड दिएको थियो । तीव्र रूपमा घरेलु उत्पादनका सामग्री उत्पादन गरेर विदेश निर्यात पनि गर्यो । घरेलु उत्पादनलाई बढवा दिने क्रममा बाहिरी देशबाट हजारौं गाई आयात गरेर दूध उत्पादनमा जोड दियो । आर्थिक संकटलाई उकास्न कतारले धेरै नैं संघर्ष गर्नुपर्यो । कतारी सरकारले नाकाबन्दीको अनुभूति जनतालाई हुनै दिएन । नाकाबन्दीले कतारको भावनामा नकारात्मक प्रभाव पार्यो । तर उद्यम व्यवसाय गर्ने हातलाई भने रोक्न सकेन । समयले पनि कतारलाई साथ दियो ।
नाकाबन्दीपछि कतारले सन् २०१७ सेप्टेम्बरमा ७ दशमलव ४ विलियन डलरको लागतमा निर्माण भएको हमाद बन्दरगाह सञ्चान गर्यो । त्यसपछि कतारमा जहाज अधिक संख्यामा आउन थाले । आफ्नै बन्दरगाह हुनुभन्दा अगाडि कतार छिमेकी देशको बन्दरगाहमा आश्रित थियो । दुबई र अरू देशका बन्दरगाहबाट सामान ल्याइने गरिन्थ्यो । सानो जहाजमा सामान राखेर कतार ल्याउनुपर्ने बाध्यता थियो । कतारले खाडी क्षेत्रभन्दा बाहिरका अरू देशमा आर्थिक सम्बन्धलाई बढाउने निर्णय गर्यो । यस देशले जति पनि विकास गरेको छ , त्यो अमेरिकालगायत उच्च सम्पन्न मुलुकसँग आर्थिक सम्बन्धको बढाउन हात मिलाउने प्रयास गर्यो । कतारले जर्मनीसँग पनि आर्थिक अवस्था मजबुत बनाउने प्रयास गरेको छ ।
कतार इन्भेस्टमेन्ट फन्डका निर्देशक अकबर खान भन्छन्, ‘राजनीतिक र आर्थिक सम्बन्धको सुरुवात एक नयाँ कतार बनाउनेको हिस्सा हो । जसमा खाडी राष्ट्रबाहेकका देशसँग बृहत्तर सम्बन्ध बनाउनु आफ्नो लक्ष्य रहेको छ ।’
बाह्य देशसँग सम्बन्ध बढाउन कतार सरकारले केही आर्थिक सुधारका योजनाहरू बनाएको छ । यसमा मजदुरी कानुन, विशेष आर्थिक क्षेत्र, निजीकरण र विदेशी स्वामित्वको सीमा परिवर्तन रहेका छन् । कतारमा राम्रा पक्ष हुँदाहु्ँदै नराम्रा पक्षहरू पनि छन् । यहाँ नोकरशाहीको समस्या एकदमै डरलाग्दो छ ।
कतारमा संसारकै सवैभन्दा ठूलो ग्यास भण्डार छ । यस्तै कतारले संसारको सबैभन्दा ठूलो लिक्युफाइड नेचुरल ग्यास निर्यात गर्ने गर्छ । यस देशले प्रत्येक दिन ६ लाख ब्यारेल तेल निर्यात गर्ने गरेको छ । कतारसँग हाइ«ड्रो कार्बनको विशाल भण्डार छ । यस्तै तीन लाख मात्रै जनसंख्या भएको देश कतार सरकारले सबै जनतालाई सरकारी जागरिमा राख्न सक्छ । कतार सरकारको सबैभन्दा ठूलो आर्थिक स्रोतको माध्यम ग्यास हो । ग्यासबाट कमाएको पैसोले उसका सारा समस्या हट्न सक्छन् ।
उच्च स्तरमा विकसित हुँदै गएको देश कतारमा विकासको काम पनि तीव्र भइरहेको छ । यो मध्यपूर्व राज्यमा उच्च जीडीपी भएको स्थिर देश हो । कतार विश्वका धेरै देशहरूमध्येमा उच्च प्रतिव्यक्ति आम्दानी भएको देशमा पनि पर्छ । नेपालको वार्षिक एक हजार चार डलर प्रतिव्यक्ति आम्दानी छ । यस्तै पछिल्लो तथ्यांकअनुसार कतारका जनताको प्रतिव्यक्ति आम्दानी ६२ हजार ८८ अमेरिकी डलर छ । यो फ्रान्सभन्दा तीनगुणा ठूलो प्रतिव्यक्ति आम्दानी भएको राष्ट्र हो ।
नेपालसँग त कतारको तुलनै गर्न सकिँदैन । वास्तवमा कतारको प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन पनि उच्च छ । उपलब्ध स्रोत र साधनलाई व्यवस्थित गर्नु नै कतारको राम्रो पक्ष भएको अर्थविद् डा. प्याकुरेल दाबी गर्छन् ।
कतारका जनतालाई निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, नागरिकलाई रोजगारको ग्यारेन्टी, आवासका लागि अनुदानको व्यवस्था छ । यस्तै बिजुली र पानी पनि निःशुल्क छ । यहाँ सदावहार परिवर्तन हुने वातावरणीय अवस्था छ । यो देशमा कुल बजेटको ५० प्रतिशत पूर्वाधारका विकासमा खर्च गर्ने गरिन्छ । यो देश पर्यटन क्षेत्र पनि फस्टाउँदै गएको मुलुकमा पर्छ । सरकारले लगानीमैत्रीको सिद्धान्तलाई व्यवहारमा उतार्दै शतप्रतिशत लगानीको स्वामित्वको सु्निश्चिता गरेको छ ।
कतार ११ हजार पाँच सय ८० स्क्वायर वर्ग किलोमिटरमा फैलिएको छ । यो मरुभूमिले घेरिएको सानो स्वतन्त्र राष्ट्र हो । एकताका यो देश मध्यपूर्वका सबै देशहरूमध्ये गरिब राष्ट्रमा पथ्र्यो । यो देश सुक्खा मरुभूमि र थोरै जनसंख्या भएको देश हो । यो मुलुकमा ५० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गर्छ । पहिले बेलायतको एक औपनिवेशिक क्षेत्र थियो । सन् १९३८ मा तेल पत्ता लागेपछि यसको विकास हुँदै गएको हो । अमेरिकाको क्यालिफोर्निया राज्यभन्दा कतार ४० गुणा सानो छ । कतारसँग जमिन, आकास, र सामुद्रिक मार्गमा नाकाबन्दी गर्दै कूटनीतिक सम्बन्ध तोडेर सानो खाडी राष्ट्रमा नाकाबन्दी गरिएको थियो । ग्यास र तेलले भरिएको देश कतारविरुद्ध यी देशहरूले आतंकवादको समर्थक भएको आरोप लगाएका थिए । चार देशले आतंकवादीसँग सम्बन्ध नबढाउन, इरानसँग आवश्यकताभन्दा बढी सम्बन्ध नराख्न चेतावनी दिए ।
यस्तै दोहास्थित अल जजिरा टेलिभिजनमा प्रतिबन्ध लगाउन पनि माग गरे । हालसम्म पनि अमेरिकी र कुवेती मध्यस्थकर्ताले गतिरोधको अन्त्य गर्ने प्रयास गरेका छन् । कतार एक सानो देश भए पनि यसका साथी ठूला र शक्तिशाली छन्, ठूला र शक्तिशाली देशबाट कतारले भरपूर आर्थिक ज्ञान लिन सफल भयो । चार देश मिलेर कतारको मुद्रालाई कमजोर पार्ने कोसिस गरे, तर सफल भएनन् ।
कतार मुलुक प्राकृतिक ग्यास र तेल उद्योगमा धनी मानिन्छ । ९९ प्रतिशत रोजगारदाता रहेको यस देशको प्रतिव्यक्ति आम्दानी अरू देशको भन्दा पाँच सय गुणा बढी छ । यसको जीडीपी ३ सय ७० विलियन डलरभन्दा माथि छ । अर्कातिर कतारले खर्च र आम्दानीलाई सन्तुलनमा राखेकाले बढी आम्दानी गर्न सफल भएको छ । यस मुलुकको ९५ अर्ब डलरको आम्दानीमा ५६ अर्ब डलर खर्च गरेको तथ्यांकले बचत आम्दानी उत्कृष्ट रहेको देखाउँछ । यस मुलुकले विभिन्न देशबाट लिएको धनराशि पनि पर्याप्तै छ ।
अर्थविद् डा. प्याकुरेल नेपालले ऋण लिएअनुसार थेग्नसक्ने आम्दानी गर्न नसकेको बताउँछन् । कतारमा कुल गार्हस्थ उत्पादनको ५९ प्रतिशत सार्वजनिक ऋण भए पनि उच्च आम्दानी र खर्चचाहिँ आम्दानीभन्दा धेरै कम देखिएको प्याकुरेलको ठहर छ ।
नेपाल पहिले धानको धेरै निर्यात गर्ने मुलुक हो । बंगलादेश, भारतलगायत मुलुकमा नेपालबाटै धान निर्यात हुने गथ्र्यो । अहिले नेपालले चामल पनि भारतबाट मगाउनुपर्छ, गोलभेंडा पनि भारतबाटै मगाउनुपर्छ । सुपारी, तेल, घिउलगायत हरेक कृषि सामग्री भारतबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालले यस अवस्थामा आयात प्रतिस्थापन गर्न सकेको छैन । तर कतार यसमा धेरै वर्षअघि सफल भएको छ । नेपालको उत्पादन पनि वृद्धि हुन सकेको छैन ।
भएका स्रोत–साधनको उपयोगिता बढाउनु, विदेशबाट प्राप्त गरेको सहयोगको प्रभावकारी सञ्चालन गर्नु, वैदेशिक ऋण निर्यातबाट हुने बचतबाट मात्रै धान्न सक्नु, उत्पादनलाई जोड दिनु, नेतृत्वको विकासप्रतिको लगाव नै कतारको विकासका कारणहरू हुन् । नेतृत्व तह पनि भ्रष्ट नभइ परोपकारी भए, सीपमूलक शिक्षाको विकास गदै स्वरोजगार सिर्जना हुनसक्ने अवस्था बनाइए नेपालको पनि केही हदसम्म विकास हुने देखिन्छ ।
प्रतिक्रिया