प्रहरीले सरकारलाई बुझायो बालुवाटार जग्गा हिनामिना छानबिन प्रतिवेदन, अब के हुन्छ ?
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ । ब्यूरोले काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले २०७५ फागुन २८ को मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार अनुसन्धान कार्य सिआइबीलाई दिएकाले सिआइबीले अनुसन्धान गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको जानकारी दिए । सरकारी जग्गा व्यक्तिले हिनामिना गरेको तथ्य फेला पारेपछि मन्त्रिपरिषद्ले अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दिएको थियो । प्रतिवेदन तयार गर्न सिआइबीले झण्डै ११ महिना लगाएको थियो ।
अब यसै प्रतिवेदनका आधारमा सरकारले थप काम कारबाही अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । यस प्रतिवेदनको अध्ययन गर्छौ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने — प्रकृयागत रुपमा जग्गाको सही छानविनमा यस रिपोर्टले ठुलो सहयोग पु¥याउने छ ।
प्रतिक्रिया