सोमबार, वैशाख १५, २०८२

लक्षण कोरोनाजस्तो, बन्यो चुनौती

नेपालखोज २०७८ असोज ५ गते १३:००

काठमाडौं । महामारीको खतराप्रति सचेत गराउने एक अध्ययनअनुसार, चीन र दक्षिण-पूर्व एसियामा प्रत्येक वर्ष मानिसहरु कोभिड-१९ जस्तै बिमारबाट प्रभावित हुन्छन् । उनीहरुलाई यस्तो रोग जनावरबाट फैलिने भाइरसका कारण लाग्छ ।

इकोहेल्थ एलायन्स तथा सिंगापुरको ड्युक एनयुएस मेडिकल स्कुलका शोधकर्ताहरुले गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष औसत रुपमा चार लाख किसिमको संक्रमण हुन्छ । तीमध्ये धेरैजसो संक्रमणको पहिचान नै हुँदैन । किनभने तीमध्ये धेरैजसो संक्रमण हल्का वा बिनाकुनै लक्षण देखापर्छन् र सजिलै मानिसहरुबीच प्रसारित हुन्छन् अनि हराउँछन् ।

यूएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजद्वारा समर्थित उक्त शोध सार्स कोभ-२ भाइरसको मुख्य स्रोत चमेरोको नजिक बस्ने मानिसहरुको कमजोर अवस्थाको अनुसन्धानमा केन्द्रित थियो ।

भनिन्छ करिब दुई दर्जन प्रजातिका चमेरा कोरोना भाइरसबाट संक्रमित हुन सक्छन् । एसियामा पनि दक्षिणी चीन, म्यानमार, लाओस, भियतनाम तथा इन्डोनेसियाका केही भाग सबैभन्दा जोखिमपूर्ण मानिन्छन् । यो अध्ययनमा चीन, दक्षिण एसिया र दक्षिण-पूर्व एसियामा चमेरोबाहेक अन्य जनावरले मानिसमा सार्ने भाइरसको संक्रमणको दर पनि अनुमान लगाइएको थियो ।

एसियामा लगभग ४७८ मिलियन मानिस विभिन्न किसिमका भाइरस ओसार्ने चमेराहरुको निवासनजिक बसोबास गर्छन्, जसमा नेपालसहित लाओस, कम्बोडिया, थाइल्यान्ड, भियतनाम, भुटान, मलेसिया, म्यानमार, दक्षिण-पूर्व चीन र इन्डोनेसियाको पश्चिमी द्वीप समावेश छन् ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा ।

प्रतिक्रिया