सोमबार, वैशाख १५, २०८२

‘जोगीको जस्तै भाँडो बोकेर धुर्मुसले रंगशाला बनाउन सक्दैनन्’

नेपालखोज २०७८ असोज ८ गते १८:१८

काठमाडौं । चितवनको भरतपुर महानगरभित्रको विश्वविद्यालयमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दै गर्दा यसको पक्ष र विपक्षमा विभिन्न टिप्पणीहरू भइरेहका छन् । धुर्मुस–सुन्तलीले चन्दा उठाएर रंगशाला बनाउन सक्दैनन् भन्ने एउटा पक्ष छ । उनीहरूले उदार मनले सुरुवात गरेको कामलाई सरकार र नागरिकले मद्दत गरे सफल हुने अर्को पक्षको दाबी छ । लगभग आधा अर्बको काम भइसकेको रंगशाला बन्नैपर्ने सरोकारवालाहरूको दबाब छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य गर्न नसक्ने विभिन्न सरोकारवालाले बताइरहेका वेला आजभोलि रकम अभावले निर्माण कार्य रोकिएको छ । रंगशाला निर्माणका क्रममा आर्थिक अभाव भएपछि फाउन्डेसनले सरकारको पनि ध्यानाकर्षण गराएको छ । १६ करोड रुपैयाँ ऋण लागेको जनाउदै फाउन्डेसनले रंगशाला परिसरमा रहेका संरचना निर्माणको काम साउन १५ गतेदेखि अघि बढाउन नसकेको जनाएको छ ।

यता वरिष्ठ पत्रकार किशोर नेपालले दुई वर्षअघि नैं अन्तर्वार्ताको क्रममा धुर्मुस–सुन्तलीले नसक्ने काम गरेको जनाएका थिए । उनले ‘घाँटी हेरी हाड निल्नु’को सूत्र नअपनाएकाले धुर्मुस–सुन्तलीलाई रंगशाला निर्माण गर्न कठिनाइ भएको. टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘कलाकारले कला देखाउने हो अनि कहीँबाट सहयोग आयो भने दिने हो ।’ धुर्मुस–सुन्तलीसँग आफ्नो कुनै वैमनस्यता नरहेको बताउँदै नेपाल भन्छन्, ‘जोगीले बोकेजस्तो भाँडो बोक्ने, संसारभरि जाने अनि पैसा उठाउने, लौ पैसा देऊ सरकारले हामीलाई काम दिएको छ भनेर भिखारीले मागेजस्तो माग्नु राम्रो होइन । त्यसरी समाजसेवा गर्नेले पहिले आफ्नो कौशलता देखाउनुपर्छ ।’

अहिले रंगशाला निर्माणको काम साउन १५ गतेदेखि रकम अभावमा अघि बढ्न सकेको छैन । १६ करोड रूपैयाँ ऋण लागेको जनाउँदै फाउन्डेसनले सरकारलाई सहयोग गर्न ध्यानाकर्षण गराएको छ । रंगशालाको काम निरन्तर रूपमा अगाडि बढ्न नसकेपछि गर्न नसक्ने काममा कलाकारले हात नहालेको भए हुन्थ्यो भनेर टिप्पणी भइरहेका छन् ।

अहिले निर्माणाधीन रंगशालामा ३० हजार दर्शकले बसेर हेर्न मिल्ने प्याराफिट निर्माणकार्य भइरहेको छ । रंगशाला निर्माणको मास्टर प्लानमा फुटबल, भलिबल, बास्केटबल, पौडी, तेक्वान्दोलगायत खेल संरचना बनाउने भनेर खुलाइएको छ ।

वरिष्ठ पत्रकार नेपालले केही दिनअघि सामाजिक सन्जाल फेसबुकमा सेयर गरेको दुई वर्षअघि क्यानाडा नेपालमा दिएको अन्तर्वार्ता हेरेपछि रत्नकाजी बज्राचार्यले धुुर्मुस–सुन्तलीमा असीमित महत्त्वकांक्षा भएको टिप्पणी गरेका छन् । उनले सीमित स्तरमा महत्त्वकांक्षा भएन भने हानिकारक हुने टिप्पणी गरेका छन् ।

बज्राचार्यको टिप्पणीजस्तै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गर्न नै रकम अभाव भएका बेला २२ वटा विभिन्न विधाका खेल पनि खेल्न मिल्ने बहुउद्देश्यीय रंगशाला निर्माणको कार्य आफैंमा महत्त्वकांक्षी छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा राजेन्द्र बानियाँसँगको अन्तर्वार्ताका क्रममा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले मास्टरप्लानमा विभिन्न २२ वटा खेल खेलिने भनेर खुलाएका छन् । उनले खेलकुद हब तथा स्पोर्ट टुरिजमको अवधारणा नै सार्वजनिक गरेको प्रस्ट्याएका छन् । अन्तर्राष्ट्रिय खेल मैदान बनाउनुको मुख्य उद्देश्यमा केन्द्रित हुँदै कट्टेल भन्छन्, ७७ जिल्लाबाटै खेलाडी छनोट गरी रंगशालामा ल्याएर प्रशिक्षित गरिनेछ । रंगशाला राष्ट्रिय खेलाडी उत्पादन गर्ने एकेडेमी मोडेलको बनाउने भनेर मास्टर प्लान भएको हो ।’ सुरुवाती चरणमा क्रिकेटको रंगशाला निर्माणको काम अघि बढाइएपछि क्रिकेट मात्रै बुझिएको कट्टेल बताउँछन् । पछिल्लो समयमा रकम अभावले क्रिकेट रंगशाला नैं बन्न नसकेको अवस्थामा कट्टेलले भनेका २२ वटा खेल संरचना बनाइने मास्टर प्लान धेरै नैं महत्त्वकांक्षी छ ।

रंगशाला निर्माणसँगै पैसा कमाएको भन्ने आशयलाई कट्टेलले गलत भनेका छन् । उनले कलाकारिताबाटै मनग्गे आम्दानी हुँदै आएको प्रस्ट पारेका छन् । स्वदेश तथा विदेशका कार्यक्रममा सहभागी भएर गतिलो पारिश्रमिक लिने अवसरलाई थाती राखेर आफू खेल मैदान बनाउन लागि परेको कट्टेल दाबी गर्छन् । धुर्मुस–सुन्तलीको परिवारले रंगशाला निर्माण भइरहँदा प्रोजेक्टको रकमले गुजारा चलाइरहेको छ । आफूहरू कलाकारिता क्षेत्रमा नभएकाले सामान्य खानपानका लागि प्रोजेक्टको रकम खर्च गर्नुपर्ने बाध्यता भएको कट्टेल बताउँछन् ।

सीताराम कट्टेल र कुञ्जना घिमिरे प्रसिद्ध हास्य कलाकारहरू भएको सर्वविदितै छ । यी हास्य कलाकारद्वय पछिल्लो समयमा समाज सेवाको क्षेत्रमा समर्पित भएर लागेका हुन् । कलाकार कट्टेल र घिमिरेले सामाजिक कार्य गर्ने उद्देश्यका साथ धुर्मुस सुन्तली फाउन्डेसन स्थापना गरेर उदाहरणीय काम पनि गरिरहेका छन् । उनीहरूले केही गरिब परिवारका लागि बास बस्न नमुना बस्ती नै बनाइ दिएका छन् ।

२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पमा पीडितको उद्धार, राहत, पुनर्निर्माण र पुनर्वास गर्ने उद्देश्यले धुर्मुस फाउन्डेसनको स्थापना भएको थियो । आफ्नो सामाजिक कामको दायरा बढाउँदै यस संस्थाले हाल चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको हो ।

आजभोलि नेपालीहरू एउटै काममा नलागेर जीविकोपार्जन गर्नका लागि विभिन्न पेसा व्यवसायमा लागेका छन् । थोरै आम्दानी हुने पेसा अगाल्नेहरू बहुकार्यमा लागेका छन् । तर प्रतिष्ठित क्षेत्रमा रहेर देशका लागि योगदान गदै पर्याप्त आम्दानी गर्नेहरू पनि बहुपेसामा आबद्ध भएपछि यसको विरोध हुने गरेको छ । आफ्नो व्यक्तित्व, पेसा र समग्र देशको विकास गर्ने हो भने एकल पेसा नै उपयुक्त हुने केही सरकारवाला बताउँछन् । कलाकार धुर्मुस र सुन्तलीलाई पनि कलाकारिता छोडेर सामाजिक कार्यमा आउँदा सफल नभएको टिप्पणी हुने गरेको छ । राजनीति गर्ने, समाज सेवा गर्ने, पत्रकारिता गर्ने, उद्योग तथा व्यापार गर्नेलगायतले आफ्नो पेसाबाहेक अरु पेसा गरे सफल नहुने र विश्वास गर्ने आधार पनि नहुने विभिन्न उदाहरणहरूले देखाएका छन् ।

वरिष्ठ पत्रकार नेपाल धुर्मुस–सुन्तलीले कलाकारिता छोडेर रंगशाला निर्माणलगायत काममा लाग्नु गलत भएको दाबी गर्छन् । विनोद शाहले नेपालको अन्तर्वार्ता हेरेपछि चन्दा उठाएर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनु गाउँमा चौतारो बनाउनु जस्तो नभएको बताएका छन् । उनी लेख्छन्, ‘चन्दा उठाएर पनि गर्न सकिन्छ तर कुन कुरा गर्ने त्यो सोच्नुपर्छ ।’

वरिष्ठ पत्रकार नेपालले सेयर गरेको अन्तर्वार्ता हेरेपछि पत्रकार माधवप्रसाद तिवारीले सामाजिक सन्जाल फेसबुकमा कमेन्ट लेख्दै चन्दा उठाएर समाज सेवा नहुने जनाएका छन् । उनी सामाजिक सन्जालमा लेख्छन्, ‘मैले धेरै पहिलादेखि यो कुरा उठाउँदै आएको थिएँ । दाजुको र मेरो मत मिल्यो । चन्दा उठाएर समाजसेवा हुने भए समाज अर्कै हुने थियो । समाजसेवाका नाममा पछिल्लो समय जन्मिएका सबै विकृतिको जग पनि यिनै हुन् ।’

कलाकारले समाज सेवाको काम गर्ने होइन भन्ने आलोचना भइरहँदा कट्टेलले आफ्नो चाहना समाज विकासको गतिमा अघि बढेर देश बन्नुपर्ने रहेको जनाएका छन् । आफूसँग मन भएको तर स्रोत नभएको धुर्मुसको भनाइ छ । देशका विभिन्न ठाउँमा यस्ता संरचनाहरू एकैसाथ बनाउने सक्ने मन र इच्छाशक्ति आफूमा भएको उनले प्रस्ट पारेका छन् । अस्पताल र विद्यालय पनि बनाउन सकिने तर स्रोत सबैभन्दा ठूलो भएको उनको भनाइ छ ।

जिन्दगी राष्ट्रका लागि समर्पण गरेकाले सत्कर्म गर्ने आफ्नो प्रयास रहेको उनी बताउँछन् । देश बनाउन हरेक व्यक्ति सरकारजस्तै भएर लाग्नुपर्ने सन्देश दिनेगरी काममा लागेको कट्टेलको दाबी छ ।

रंगशाला निर्माणका क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारबाट ५० करोड रुपैयाँ अपेक्षा गरेको छ । फाउन्डेसनका अनुसार रंगशालाको निर्माण ३५ प्रतिशत मात्रै सकिएको छ । बोलकबोल रकम उठेर सरकारको सहयोग प्राप्त भए रंगशाला निर्माणको काम अघि बढ्ने कट्टेलको भनाइ छ । तर वरिष्ठ पत्रकार नेपालले भनेजस्तै चन्दा उठाएर रंगशाला निर्माणको काम गर्न भने धुर्मुस–सुन्तलीलाई निकै नै अप्ठ्यारो पर्ने देखिन्छ ।

२०७५ सालको माघमा निर्माणको घोषणा गरिएको रंगशालाको संरचना निर्माणको काम गत वर्ष सुरु गरिएको थियो । अहिलेसम्म ५४ करोड ६२ लाख रूपैयाँ खर्च भएकोे छ । तर प्राप्त सहयोग भने ३८ करोड ३४ लाख मात्रै छ । सरकारी र विभिन्न संघ-संस्थाबाट कबोल गरिएको रकम उठ्ने छाँट नहुँदा रंगशाला निर्माणको काम अझ अन्योल हुँदै गएको छ ।

प्रतिक्रिया