सोमबार, वैशाख १५, २०८२

२४१ मिलियनभन्दा बढी भ्याक्सिन बर्बाद !

नेपालखोज २०७८ असोज ११ गते ९:०८

काठमाडौं । कोभिड-१९ विरुद्धको भ्याक्सिनमा एकाधिकार जमाउने जी-सेभेनका विकसित देश र युरोपिय युनियनका देशहरुले यसको लाखौं खुराक बर्बाद गरिरहेका छन् । उक्त भ्याक्सिन कम आय भएका देशका गरिब जनतालाई दिएर लाखौं ज्यान जोगाउन सकिन्थ्यो ।

विज्ञान सूचना र विश्लेषण कम्पनी एयरफिनिटीका अनुसार यो अंग्रेजी सालको अन्त्यसम्म जी-७ र युरोपेली युनियनसँग उनीहरुको आवश्यकताभन्दा एक अर्ब डोज बढी भ्याक्सिन हुनेछ । जसमध्ये करिब दश प्रतिशत खोप यही अंग्रेजी सालको अन्त्यसम्म काम नलाग्ने भइसक्छ ।

यति भ्याक्सिन डिसेम्बर २०२१ सम्म खराब हुनुको अर्थ के हो भने केही महिनापछि नै संसारमा दश करोड डोज भ्याक्सिन कम हुँदै छ । बेकार हुने भ्याक्सिनमा सबैभन्दा बढी अर्थात् ४१ प्रतिशत भ्याक्सिन युरोपेली युनियनमा, ३२ प्रतिशत अमेरिकामा, १३ प्रतिशत बेलायतमा र १२ प्रतिशत क्यानाडामा खराब हुनेछ ।

एयरफिनिटीको विश्लेषण अनुसार, ‘जी-७ र युरोपेली युनियनले संयुक्त रुपमा जति भ्याक्सिन खरिद गरेका छन् त्यो कम र कम-मध्यम आय भएका देशको ७० प्रतिशत जनसंख्याका लागि पर्याप्त हुन्छ ।’

यता संसारभरका ७५ वटा संगठनको साझा मञ्च पिपुल्स भ्याक्सिन एलायन्स अर्थात् पीभीएले धनी देशहरुले गरिब देशहरुलाई बढी भन्दा बढी भ्याक्सिन उपलब्ध गराउन माग गरेको छ । पीभीए भन्छ, ‘जी-७ का नेताहरुले जुन महिनामा वाचा गरेअनुरुप भ्याक्सिनको एक अर्ब डोजमध्ये १३ प्रतिशत बाडिइसकिएको छ ।’ संसारभर भ्याक्सिन पुर्‍याउने उद्देश्यले गठित अन्तर्राष्ट्रिय पहल कोभ्याक्सका अनुसार अहिलेसम्म जति भ्याक्सिन धनी मुलुकबाट उपलब्ध हुनुपर्ने हो त्यसको पचास करोड डोज कम आपूर्ति भएको छ । यति भ्याक्सिन विकासशील देशको २३ प्रतिशत जनसंख्यालाई पर्याप्त हुने थियो ।

एयरफिनिटीका अनुसार, ‘अझै थप केही भ्याक्सिन बर्बाद हुनेछ । गरिब र कम आय भएका देशले डेट एक्सपायर हुनै लागेका भ्याक्सिन दानमा स्वीकार गर्ने छैनन् । उनीहरुलाई दानको भ्याक्सिन आफ्नो देशमा पुर्‍याइ जनतालाई उपलब्ध गराउनसम्म केही समय चाहिन्छ । यदि डेट एक्सपायर हुनुभन्दा दुई महिना पहिले त्यो खोप सम्बन्धित देशमा नपठाउने हो भने कैयन् देशले त्यसको प्रयोग गर्न सक्ने छैनन् ।

भ्याक्सिनको भण्डारण र उपयोगको समयको हिसाब लगाउँदा जी-सेभेन र युरोपेली युनियनसँग भएको २४१ मिलियन अतिरिक्त भ्याक्सिन अहिले बर्बाद हुने अवस्थामा पुगेको हो । यो उनीहरुसँग भएको बढी खोपको २५ प्रतिशत हो ।

अहिले संसारका कैयौं देशमा खोपको गति बढाउनुपर्ने आवश्यकता छ । उदाहरणका लागि अफ्रिकामा यसको गति निकै सुस्त छ । त्यहाँ अहिलेसम्म केवल चार प्रतिशत जनसंख्याले दुवै डोज खोप पाएको छ । अफ्रिकामा कैंयन् त्यस्ता देश छन जहाँ मुस्किलले एक प्रतिशत मानिसले खोप पाएका छन् र ती देशमा कोरोनाबाट मर्नेहरुको संख्या पनि बढी नै छ ।

एयरफिनिटी भन्छ- आउने अंग्रेजी सालको मध्यसम्म कोरोनाका चार सय मिलियन केस देखापर्नेछ । यदि विकसित देशहरुसँग भएको अतिरिक्त भ्याक्सिन नबाँड्ने हो भने त्यो चाँडै डेट एक्सपायर हुनेछ भने समयमै त्यसलाई आवश्यकता भएका गरिब मुलुकमा पुर्‍याउने हो भने दश लाख मानिसको ज्यान जोगाउन सकिन्छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया