सोमबार, वैशाख १५, २०८२

‘रेविजबाट मृत्यु हुनेको वार्षिक तथ्यांक राख्न आवश्यक’

नेपालखोज २०७८ असोज १२ गते १२:३४

काठमाडाैं । ‘तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने मुल नारासहित ‘विश्व रेविज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलबार इपिडेमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेविज दिवस मनाएको हो ।

कार्यक्रमपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेविज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए ।

उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताए ।

उनले घरपालुवा कुकुरहरुलाई रेविजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०/१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताए ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेविजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए ।

उनले देशभरमा रेविजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताए । कुकुरबाट मानिसमा हुने रेविजलाई सन् २०३० सम्म शून्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बाँस्तोलाले यसका लागि सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेविज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेविज शून्यमा ल्याउन सकिने बताए ।

उनले रेविजबाट मृत्यु हुनेहरुको तथ्यांक मानिसको मात्रै नभइ जनावरहरुको पनि यकिन तथ्यांक राख्न सरकारले काम गरिरहेको बताए ।

निर्देशक बाँस्तोलाले विकसित देशहरुमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताए ।

नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेविजविरुद्धको खोप लगाउनुपर्ने बताए ।

प्रतिक्रिया