मंगलबार, वैशाख १८, २०८१

सावधान ! गर्धन मालिस गर्दा मस्तिष्काघातको खतरा

नेपालखोज २०७८ असोज २७ गते ११:५४

काठमाडौं । दिमाग मानव शरीरको महत्त्वपूर्ण अंग हो । जति शरीर स्वस्थ हुन्छ दिमाग पनि त्यति नै स्वस्थ हुने गर्छ । मानव शरीर चलाउने रिमोट कन्ट्रोल दिमाग हो । जो मानिसको दिमाग स्वस्थ हुन्छ, उसले विभिन्न उतारचढावलाई सहजै स्वीकार गर्ने चिकित्सकहरू बताउँछन् । जब दिमागको कुनै भागमा अक्सिजन वा रगतको सफाइ रोकिन्छ भने दिमागका ती भागहरू निष्क्रिय हुने गर्छन् । दिमागको यस अवस्थालाई मस्तिष्काघात भन्ने गरिन्छ ।

मस्तिष्काघात हुँदा प्रत्येक एक सेकेन्डमा ३२ हजार दिमागका कोषहरू निष्क्रिय हुन्छन् । समग्रमा दिमागले चौबीसै घण्टा मेसिनका रूपमा काम गर्ने गर्छ । मेसिनरूपी दिमागलाई स्वस्थ राख्न विशेष ख्याल गर्नुपर्ने हुन्छ । तर, धेरै कम मानिसले दिमागको ध्यान गर्ने गर्छन् ।

विश्वमा प्रत्येक चारमा एक व्यक्तिलाई मष्तिकाघातको जोखिम हुने गर्छ । मस्तिष्काघातको खतरा हुने ४० वर्षभन्दा कम उमेरका मानिसहरू २० प्रतिशत छन् । विश्वमा मस्तिष्कमा असर गर्ने पहिलो कारण मनरोग हो भने दोस्रो मस्तिष्काघात हो । भारतमा प्रत्येक वर्ष १८ लाख मानिस मस्तिष्काघातको सिकार हुने गरेका छन् ।
मस्तिष्काघातको खतरा बढाउन सक्ने विभिन्न तीन कारण छन् । पहिलो, कोरोना भाइरसको संक्रमणका कारण मानिसको दिमागमा धेरै हानि गर्ने हुन्छ । दोस्रो, मानिसको जीवनशैली र तेस्रो कारण आफ्नो गर्धनको मालिस वा मसाज गर्नु रहेको छ ।

कोराना भाइरसको संक्रमण भएपछि धेरै मानिसको दिमाग सुस्त भएको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । कुनै पनि विषयमा ध्यान केन्द्रित नहुने र आफ्नो सामान राखेको ठाउँ पनि भुल्ने गरेका छन् । दिमागी यस्तो समस्यालाई चिकित्सकहरूले ब्रेन फगको नाम दिएका छन् । ब्रेन फग भनेको कुनै निश्चित समयसम्म मानिसको मानसिक क्षमतामा ह्रास हुने समस्या हो ।

ब्रेन फग समस्या भएपछि सोच्न र ध्यान केन्द्रित हुन समस्या हुने गर्छ । बिरामी र डाक्टरको अनुभवअनुसार सहनै नसक्ने गरी टाउको दुख्नु, फोक्सोको समस्या, मुटुको धड्कनमा घटबढ, ग्यास्ट्रिकको समस्या, डिप्रेसन र थकाइ ब्रेन फगका लक्षणहरू भएको ‘द अरोजोना रिपब्लिक’ वेबसाइटमा उल्लेख छ ।

विशेषगरी ब्रेन फग समस्या कोरोना संक्रमण जारी रहेका बेला र नेगेटिभ भएको केही महिनासम्म देखिने गर्छ । कोरोना संक्रमणमुक्त भएका मानिसमा कति दिनसम्म यस्तो लक्षण रहन्छ भन्नेमा चिकित्सकहरू नै अलमलमा छन् ।

कोरोना भाइरस संक्रमण भएकाहरूमा रगत जम्ने समस्या हुने गर्छ । यसले दिमागमा पनि रगत जम्ने समस्या हुन सक्छ र मस्तिष्काघातको समस्या हुने गर्छ । मस्तिष्काघातको अर्को समस्या भनेको खराब अवस्थाको जीवनशैली पनि हो । खराब जीवनशैलीमा मोबाइल पहिलो नम्बरमा पर्ने गर्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थको अनुसन्धानअनुसार ५० मिनेटभन्दा बढी मोबाइल प्रयोग गर्दा दिमागी क्रियाकलापमा असर गर्न सक्छ । मोबाइल फोनले दिमागको शान्ति भंग गरी चिन्ताको समस्या निम्त्याउन सक्ने नेसनल इन्स्टिच्युटले जनाएको छ । यसका साथै पत्रुखानाको बढी सेवन, धूमपान गर्ने, मादकपदार्थ सेवन गर्ने र नियमित व्यायाम नगर्नेहरूमा पनि मस्तिष्क पक्षघातको जोखिम धेरै हुनेगर्छ ।

मानिसले आफ्नो शरीरको गर्धन गलत किसिमले मालिस गरे मस्तिष्काघातको खतरा हुने गर्छ । गर्धनमा मसाज गर्दा गलत किसिमले गर्यो भने सीधै अस्पतालमा भर्ना हुने अवस्थासम्मको जोखिम हुन्छ । सैलुन र ब्युटीपार्लरमा कपाल काटिसकेपछि गर्धन, टाउको र शरीरसम्म मालिस गर्ने गरिन्छ । यस्तै थकान लागेको बेला वा जुनसुकै बेला पनि महिला–पुरुषले मसाज सेन्टरसम्म पुगेर पनि शरीर मसाज गर्ने गर्छन् । मालिसको क्रममा गर्धनबाट दिमागसम्म पुग्ने मस्तिष्क नसाभित्र चोट भई रगत जम्ने समस्या भएर मस्तिष्काघातसम्म हुनसक्ने चिकित्सकहरू बताउँछन् । दबाएर गर्धनमा मालिस गर्दा नसा च्यापिएर मस्तिष्कको नसामा रगत प्रवाह नहुने समस्या हुन सक्छ । चिकित्सकका अनुसार जोडले गर्धनको मसाज नगरी हलका किसिमले गर्नुपर्छ ।

जतिजति जीवनशैलीमा परिवर्तन भइरहको छ, उतिनै मस्तिष्काघातको खतरा पनि बढ्दै गएको छ । मस्तिष्काघात आफूमा भए–नभएको थाह पाउन अनुहारबाट संकेत पाइन्छ । अनुहारको मांसपेशी कमजोर अनुभूति हुने वा देखिने गर्छ । यस्तै मानिसको पाखुरा वा हात कमजोर हुने गर्छन् । यस्तै बोलीमा घबराहट हुनेगर्छ । अर्को छिटोछिटो अस्पताल जाने अवस्था हुन्छ ।

दिमाग स्वस्थ राख्ने उपाय :
दिमाग स्वस्थ राख्न पहिलो कुरो त मानिसको स्वास्थ्य स्वस्थ हुनुपर्छ । पत्रुखाना खानु हुँदैन । मदिरा र धूमपान सेवनले दिमाग स्वस्थ राख्न समस्या हुने गर्छ, यस्ता सेवन वर्जित गर्नुपर्छ । यस्तै नियमित व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ । गर्धनको मालिस हल्का रूपले मात्र गर्ने गर्नुपर्छ ।

यस्तै दिमागी अभ्यास हुने खेल बाघचाल, चेसलगायत खेलेर दिमागी कसरत गर्नुपर्छ । सातामा पाँच दिन कम्तिमा आधा घण्टा हिँड्ने बानीको विकास गर्नुपर्छ । यस्तै ४० वर्षभन्दा कम उमेरकाले जिम, साइक्लिङ, स्विमिङ, रनिङलगायत व्याम गर्न सक्छन् । यस्तै पर्याप्त रूपमा सफा पानी पिउनाले पनि दिमागलाई स्वस्थ राख्नमा मद्दत गर्छ । थकान लागेका बेला मानिसले पर्याप्त पानी पिउन चिकित्सकहरू सुझाउँछन् ।

यस्तै उच्च रक्तचापका बिरामीहरूले नियमित रूपमा औषधि सेवन गर्ने बानीको विकास गर्नुपर्छ । उच्च रक्तचापका बिरामीले औषधि खाँदै रोक्ने बानीले मस्तिष्काघातको खतरा हुनेगर्छ । मधुमेहका बिरामीले पनि सुगरको लेभल नियमित रूपमा सन्तुलनमा राख्नुपर्छ ।

यस्तै नियमित रूपमा ताजा खाना, तरकारी र फलफूल खाने बानीको विकास गर्न आवश्यक छ । मस्तिष्काघातबाट जोगिन मानिसले आफूलाई हरदम खुसी राख्ने प्रयत्न गर्नुपर्छ ।

प्रतिक्रिया